काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले भेटवार्ता गरेकी छन् ।
भेटमा नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवार तथा समुदायप्रति सहानुभूति प्रकट गरेकी छन् ।
खोज तथा उद्धार कार्य जारी रहेको अवस्थामा बोल्डिनले बेपत्ता अमेरिकी नागरिकसहित बाढीबाट प्रभावित अन्य व्यक्तिको खोजीका लागि नेपाल सरकारले गरिरहेको प्रयासप्रति आभार व्यक्त गरेकी छन् ।
उनले विपद्को प्रतिकार्यमा अमेरिका नेपालसँग मिलेर काम गरिरहेको बताउँदै अमेरिकी नागरिकको सुरक्षा आफ्नो देशको सर्वोच्च प्राथमिकता रहेको उल्लेख गरेकी छन् । आफ्ना आफन्तबारे जानकारी खोजिरहेका परिवारलाई सहयोग गर्न अमेरिकी कन्सुलर सेवा थप विस्तार गरिएको पनि उनले बताएकी छन् ।
नेपालको नेतृत्वमा देशभर प्रभावित समुदायमा भइरहेको उद्धार, राहत तथा विपद् प्रतिकार्यमा अमेरिकी सहयोगले पनि साथ दिइरहेको जनाइएको छ । अमेरिकाले नेपालका बाढी प्रभावितका लागि ४० लाख अमेरिकी डलरभन्दा बढी अर्थात् करिब ६१ करोड रुपैयाँभन्दा बढीको मानवीय सहायता परिचालन गरेको छ। उक्त सहयोगमा खाद्यान्न, आपत्कालीन राहत सामग्री, बन्दोबस्तीका सामग्री तथा उपकरण र विपद्बाट प्रभावित व्यक्तिको पुनर्लाभमा आवश्यक पर्ने विशेष सामग्री समावेश छन् ।
यसैगरी, प्रभावितको पहिचान तथा परिवारका प्रश्नको जवाफ खोज्न अमेरिकी संघीय अनुसन्धान निकायका न्यायिक विज्ञान विशेषज्ञहरू नेपाल प्रहरीसँग मिलेर काम गरिरहेका छन् । नेपालले बाढीबाट भएको क्षति, विस्थापन तथा मानवीय आवश्यकताको थप आकलन गरिरहेका बेला अमेरिकाले नेपालसँग नजिकबाट सहकार्यलाई निरन्तरता दिने जनाएको छ ।









