काठमाडौं । धनुषाको धनौजी गाउँपालिका–२ स्थित गौरदाहादेखि लखौरीसम्मको सडक निर्माणमा कामै नगरी रकम भुक्तानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
आयोगका अनुसार सडक निर्माणको सूचना सार्वजनिक नगरी कागजी प्रक्रिया पूरा गरेको देखाएर २ लाख ४९ हजार ५०४ रुपैयाँ भुक्तानी गरिएको थियो। त्यस्तै, सडक निर्माणको कामै नगरी झुट्टा प्राविधिक बिल, नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयार गरी २४ लाख १५ हजार १२० रुपैयाँ भुक्तानी गरिएको पाइएको छ ।
यस प्रकरणमा धनौजी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरी, लेखापाल राधेश्याम राय, खरिदार अरुणकुमार यादव, सिअहेव उमेर साह र तत्कालीन शिक्षा शाखा प्रमुख अनिलकुमार साहुसहित नौ जनालाई प्रतिवादी बनाइएको छ।
आयोगले प्रतिवादीहरूबाट कुल २६ लाख ६४ हजार ६२४ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार कैद, जरिवाना तथा बिगो असुलउपरको मागदाबी गरेको छ ।









