• २०८३ भदौ २५ बिहीबार

चिनियाँ राष्ट्रपति सी भारत भ्रमणमा जादै

चिनियाँ राष्ट्रपति सी भारत भ्रमणमा जादै

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जीनफिङ यसै साताको अन्त्यमा भारतको नयाँदिल्लीमा हुने १८औँ ब्रिक्स सम्मेलनमा सहभागी हुन भारत जाने भएका छन् ।

चिनियाँ विदेश मन्त्रालयका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा राष्ट्रपति सी सेप्टेम्बर १२ र १३ मा नयाँदिल्लीमा हुने ब्रिक्स सम्मेलनमा सहभागी हुने भएका हुन् ।

यो सीको सात वर्षपछिको पहिलो भारत भ्रमण हुनेछ । सन् २०२० मा गलवान उपत्यकामा भएको सीमा झडपपछि चीन र भारतबीचको सम्बन्धमा तनाव बढेको थियो । उक्त झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो भने चिनियाँ पक्षमा पनि केही सैनिकको मृत्यु भएको थियो ।

सीले पछिल्लो पटक सन् २०१९ मा भारत भ्रमण गरेका थिए । त्यस क्रममा उनले चेन्नईनजिकै मामल्लपुरममा प्रधानमन्त्री मोदीसँग अनौपचारिक शिखर वार्ता गरेका थिए । त्यसअघि सीले सन् २०१४ मा पहिलोपटक भारत भ्रमण गरेका थिए भने सन् २०१६ मा गोवामा भएको ब्रिक्स सम्मेलनमा सहभागी भएका थिए ।

पछिल्ला वर्षहरूमा चीन र भारतबीचको द्विपक्षीय सम्बन्धमा सुधार आएको छ । विशेषगरी प्रधानमन्त्री मोदीको गत वर्षको चीन भ्रमणपछि सम्बन्ध सुधारतर्फ अघि बढेको थियो । दुवै देशको अमेरिकासँगको सम्बन्धमा उतारचढाव भइरहेका बेला चीन र भारतबीच सहकार्य बढेको देखिएको छ ।

भारतले सन् २०२० को सीमा झडपपछि चिनियाँ लगानीमा लगाएका केही प्रतिबन्ध पनि पछिल्लो समय खुकुलो बनाएको छ । विशेषगरी विद्युतीय उपकरण, पुँजीगत वस्तु र सौर्य सामग्री उत्पादन क्षेत्रमा चिनियाँ लगानीलाई सहज बनाइएको छ ।

दुवै नेताबीच पछिल्लो पटक यसै महिना किर्गिस्तानमा भएको क्षेत्रीय बैठकका क्रममा संक्षिप्त भेटवार्ता भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै