• २०८३ भदौ २३ मंगलबार

बाढी प्रभावित विद्यालयको अवस्था बुझ्न शिक्षामन्त्री पोखरेल नुवाकोटमा

बाढी प्रभावित विद्यालयको अवस्था बुझ्न शिक्षामन्त्री पोखरेल नुवाकोटमा

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बाढी प्रभावित विद्यालय तथा शैक्षिक पूर्वाधारको स्थलगत निरीक्षण गरेका छन् । 

मन्त्री पोखरेल नेतृत्वको टोलीले मंगलबार नुवाकोटका विभिन्न विद्यालय तथा शैक्षिक संस्थाको अनुगमन गर्दै क्षतिको अवस्था र विद्यार्थीको पठनपाठनबारे जानकारी लिएको हो ।

टोलीले शिक्षा विकास तथा समन्वय एकाइ, त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय, न्यूरेनी सुन्दरी माध्यमिक विद्यालय, सामुदायिक बहुउद्देश्यीय भवन, कर्भट हल, चन्द्रज्योती माध्यमिक विद्यालय र अन्नपूर्ण पञ्चकन्या आधारभूत विद्यालयको निरीक्षण गरेको थियो ।

अनुगमनका क्रममा बाढीबाट विद्यालय भवन तथा पूर्वाधारमा भएको क्षति, विद्यालय सञ्चालनको अवस्था र विद्यार्थीको सिकाइमा परेको प्रभावबारे स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासँग छलफल गरिएको थियो । प्रभावित विद्यालय र विद्यार्थीको पठनपाठन सहज बनाउन आवश्यक पहल गर्ने मन्त्री पोखरेलले बताएका छन् ।

भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १९ विद्यालय पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । बाढीका कारण १६ शिक्षक र २१७ विद्यार्थी सम्पर्कविहीन रहेको तथा ९ हजार ७४२ विद्यार्थीको सिकाइ प्रभावित भएको प्रारम्भिक विवरण छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै