काठमाडौँ । चीनको वैदेशिक व्यापारमा चालु वर्षको पहिलो आठ महिनामा उल्लेख्य वृद्धि भएको छ । चीनको भन्सार प्रशासनले सार्वजनिक गरेको तथ्यांकअनुसार जनवरीदेखि अगस्टसम्म चीनको वस्तु आयात–निर्यातको कुल मूल्य ३४.७८ ट्रिलियन युआन पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७.६ प्रतिशत बढी हो ।
पहिलो सात महिनाको तुलनामा व्यापार वृद्धिदर ०.३ प्रतिशत बिन्दुले बढेको तथ्यांकमा उल्लेख छ । यस अवधिमा चीनको निर्यात २०.१७ ट्रिलियन युआन पुगेको थियो, जुन वार्षिक आधारमा १४.६ प्रतिशत वृद्धि हो । आयात भने १४.६१ ट्रिलियन युआन पुगेको थियो, जुन २२ प्रतिशतले बढेको हो ।
अगस्ट महिनामा मात्रै चीनको वस्तु व्यापार ४.६५ ट्रिलियन युआन पुगेको थियो । यो अघिल्लो वर्षको अगस्टको तुलनामा १९.८ प्रतिशत बढी हो । अगस्टमा निर्यात १८.६ प्रतिशत र आयात २१.७ प्रतिशतले बढेको थियो ।
अगस्ट लगातार चौथो महिना हो, जहाँ चीनको निर्यात र आयात दुवैमा दोहोरो अंकको वृद्धि भएको छ । आयातको वार्षिक वृद्धिदर लगातार छ महिनादेखि निर्यातको वृद्धिदरभन्दा उच्च रहेको तथ्यांकले देखाएको छ ।









