काठमाडौँ । चीनको सहयोगमा नेपालका लागि पठाइएको आपत्कालीन राहत सामग्रीको चौथो खेप मंगलबार काठमाडौँ आइपुगेको छ ।
चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको ठूलो मालवाहक विमानमार्फत मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राहत सामग्री ल्याइएको हो । राहत सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र नेपालका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी भएका थिए ।
चौथो खेपमा उद्धारका लागि प्रयोग हुने पानीमा चल्ने डुंगा, स्टेनलेस स्टिलका स्थायी चुम्बकीय बाढी पम्प, अतिरिक्त ब्याट्री, शव राख्ने चिस्यान यन्त्र तथा सौर्य ऊर्जाबाट चल्ने बत्तीहरू रहेका छन् ।
नेपालमा बाढी तथा अन्य विपद्बाट प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने सामग्रीलाई प्राथमिकतामा राखेर सहयोग पठाइएको जनाइएको छ । यी सामग्रीले विपद् प्रभावित क्षेत्रमा उद्धार तथा त्यसपछिका राहत र व्यवस्थापनका काममा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।









