काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) को केन्द्रीय कार्यकारिणी समिति बैठक आजदेखि काठमाडौंमा सुरु हुँदैछ । केन्द्रीय कार्यालय बालकुमारीमा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा सुरू हुने बैठक भाद्र १६ र १७ गते दुई दिनसम्म चल्नेछ ।
बैठकमा पार्टीको आगामी राजनीतिक कार्यदिशासहित संगठनात्मक विषयलाई मुख्य प्राथमिकतामा राखेर छलफल हुने भएको छ । जसपा नेपालका केन्द्रीय महासचिव डा. सुरेन्द्र कुमार झाले बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल हुनुका साथै पार्टी संगठनलाई प्रदेशदेखि स्थानीय तहसम्म समायोजन गर्ने विषयमा निर्णयका लागि प्रस्ताव पेश हुने बताएका छन् ।
बैठकका लागि प्रदेश, जिल्ला र स्थानीय तहका पार्टी संरचनाको समायोजन तथा भ्रातृ संगठनको समायोजनसम्बन्धी प्रस्ताव पनि एजेण्डामा राखिएको छ ।
त्यस्तै, विभिन्न राजनीतिक दल तथा शक्तिहरूबीचको सहकार्यका लागि अघि बढाइएको अग्रगामी मोर्चा सम्बन्धमा पनि कार्यकारिणी समितिमा छलफल हुनेछ । पार्टीको संसदीय बोर्ड गठन तथा कार्यकारिणी सदस्यहरूको कार्यविभाजनसम्बन्धी प्रस्तावसमेत बैठकमा प्रस्तुत गरिने महासचिव डा. झाले बताए । यसैगरी, हालैका बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि राहत संकलन गर्ने विषयमा पनि बैठकमा छलफल हुने एजेण्डा तय गरिएको छ ।
जसपा नेपालले बैठकमार्फत पार्टीको राजनीतिक तथा संगठनात्मक संरचनालाई थप व्यवस्थित बनाउने र आगामी राजनीतिक गतिविधिका लागि आवश्यक निर्णय लिने तयारी गरेको छ । बैठकमा प्रस्तुत हुने प्रस्तावमाथि छलफलपछि आवश्यक निर्णय गरिने पार्टीले जनाएको छ ।









