म्युनिख । बायर्न म्युनिखले जर्मन शीर्ष डिभिजन बुण्डेसलिगाको नयाँ सिजनमा शानदार शुरुवात गरेको छ ।
गएराती सम्पन्न पहिलो खेलमा बायर्न म्युनिखले भीएफबी स्टुटगार्टलाई ५-१ गोल अन्तरले पराजित गर्दै उपाधि रक्षाको शानदार सुरुआत गरेको हो । गएराती एलियान्ज एरिनामा भएको खेलमा बायर्नले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै ठूलो जित निकालेको हो ।
बायर्नले खेलको २१औँ मिनेटमा डयोट उपामेकानोको गोलबाट अग्रता लिएको थियो । जोसुवा किमिखको कर्नरमा उपामेकानोले हेडमार्फत गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाएका थिए । पहिलो हाफमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरे पनि बायर्न एक गोलले अगाडि रह्यो । दोस्रो हाफ सुरु भएको सात मिनेटमै स्टुटगार्टले खेल बराबरीमा ल्याएको थियो । गोलरक्षक मानुएल नोयरले जेफ चाबोटको प्रहार रोके पनि फर्किएको बलमा जोशा भाग्नोमानले गोल गर्दै स्कोर १–१ बनाएका थिए ।
तर बराबरीपछि बायर्नले आक्रामक खेल प्रस्तुत गरेको थियो । खेलको ५५औँ मिनेटमा माइकल ओलिसेले किमिखकै पासमा गोल गर्दै बायर्नलाई पुनः २–१ को अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि स्टुटगार्टका भाग्नोमानले आफ्नै पोस्टमा गोल गरेपछि बायर्नको अग्रता ३–१ पुगेको थियो ।
बायर्नले त्यसपछि पनि दबाब कायम राख्यो। ८२औँ मिनेटमा अलेक्जान्डर पाभ्लोभिचले इस्माएल सैबारीको पासमा गोल गर्दै बायर्नलाई ४–१ को अवस्थामा पुर्याएका थिए । थपिएको समयको दोस्रो मिनेटमा लुइस डियाजले सैबारीकै पासमा गोल गरेपछि बायर्नले ५–१ को फराकिलो जित सुनिश्चित गरेको थियो ।
गत सिजन १२२ गोल गर्दै जर्मन शीर्ष डिभिजनमा कीर्तिमान बनाएको बायर्नले नयाँ सिजनको पहिलो खेलमै पाँच गोल गर्दै आफ्नो आक्रामक क्षमता कायमै रहेको देखाएको छ ।









