काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभामा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने दिँदैछन् । सभामुख डोलप्रसाद अर्यालले सांसदहरूको प्रश्नको जवाफ दिन रुलिङ गरेपछि प्रधानमन्त्री शाहले पहिलोपटक संसदमा जवाफ दिन लागेका हुन् ।
संसद सचिवालयका अनुसार आज दिउसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यतालिका रहेको छ । सचिवालयका अनुसार सत्तापक्ष र प्रतिपक्ष गरी ११ जना सांसदले प्रधानमन्त्री शाहलाई प्रश्न सोध्ने तय भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट समीक्षा बास्कोटा, कृष्णहरि बुढाथोकी र अमरेश सिंहले प्रश्न सोध्दैछन् भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट प्रमुख सचेतक बासना थापा र सांसद गीता गुरुङले प्रश्न सोध्दैछन् । त्यस्तै, एमालेबाट प्रमुख सचेतक ऐनबहादुर महर र सांसद गणेशसिंह ठगुन्ना, नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन र प्रमेशकुमार हमाल, श्रम संस्कृति पार्टीबाट संसदीय दल नेता हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुख सचेतक खुश्बु ओलीले प्रश्न सोध्ने तय भएको छ ।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमसम्बन्धी व्यवस्था रहेकोमा लामो समयसम्म प्रधानमन्त्री सांसदका प्रश्नको जवाद दिन तयार नभएपछि सभामुखको रुलिङ पछि तयार भएका छन् ।









