• २०८३ भदौ २ मंगलबार

मदिरा सेवन गरी सवारी चलाएको आरोपमा वार्नरलाई जरिवाना

मदिरा सेवन गरी सवारी चलाएको आरोपमा वार्नरलाई जरिवाना

काठमाडौँ । अस्ट्रेलियाका पूर्व क्रिकेटर डेभिड वार्नरलाई मदिरा सेवन गरी सवारी चलाएको अभियोगमा १५ सय अस्ट्रेलियाली डलर जरिवाना गरिएको छ ।

सिड्नीको अदालतले वार्नरलाई जरिवाना बाहेक उनको गाडीमा १२ महिनासम्म मदिरा परीक्षण गर्ने उपकरण (इन्टर लक डिभाइस) जडान गर्नसमेत आदेश दिएको छ । उक्त उपकरणले चालकको श्वासमा तोकिएको सीमाभन्दा बढी मदिरा भेटिएमा गाडीको इन्जिन सुरु हुन दिँदैन ।

वार्नरलाई इस्टर आइतबार सिड्नीको बाहिरी क्षेत्रमा गरिएको आकस्मिक श्वास परीक्षणका क्रममा पक्राउ गरिएको थियो । परीक्षणमा उनको रगतमा मदिराको मात्रा ०.१०४ देखिएको थियो, जुन अस्ट्रेलियामा सामान्य चालकका लागि तोकिएको ०.०५ को कानुनी सीमाभन्दा दोब्बरभन्दा बढी हो ।

अदालतमा वार्नरले गाडी चलाउनुअघि तीन गिलास सेतो मदिरा सेवन गरेको स्वीकार गरेका थिए । उनले गत महिना मध्यम तहको मदिरा सेवन गरी सवारी चलाएको अभियोग पनि स्वीकार गरेका थिए । अदालतमा प्रस्तुत विवरणअनुसार वार्नरले सडकमा परीक्षण भइरहेको देखेपछि गाडी रोकेर महिला यात्रुसँग चालकको सिट साट्ने प्रयास गरेका थिए ।

३९ वर्षीय वार्नरले अस्ट्रेलियाका लागि ११२ टेस्ट र २५० भन्दा बढी सीमित ओभरका अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले सन् २०२४ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए । त्यसपछि उनी खेलाडीका रूपमा फ्रेन्चाइज क्रिकेटमा तथा खेल विश्लेषकका रूपमा सक्रिय छन् ।

वार्नर हाल सिड्नी थन्डरका कप्तान हुन् र पाकिस्तान सुपर लिगमा कराँची किङ्सबाट पनि खेल्दै आएका छन् । सिड्नी थन्डर मदिरा सेवन गरी सवारी चलाउने कार्यविरुद्धको जनचेतना अभियानमा समेत सहभागी रहेको छ । क्रिकेट न्यु साउथ वेल्सले सुरक्षित सवारीलाई समर्थन गर्ने र घटनालाई गम्भीर रूपमा लिएको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै