• २०८३ श्रावण २३ शनिबार

एकदिवसीय क्रिकेटमा पाँच हजार खेल पूरा, यस्ता छन् ऐतिहासिक कीर्तिमान

एकदिवसीय क्रिकेटमा पाँच हजार खेल पूरा, यस्ता छन् ऐतिहासिक कीर्तिमान

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेटको कुनै एक स्वरूपमा पहिलोपटक पाँच हजार खेल पूरा भएको छ । यो कीर्तिमान एकदिवसीय क्रिकेटले बनाएको हो । स्कटल्यान्डमा शुक्रबार स्कटल्यान्ड र क्यानडाबीच भएको खेल एकदिवसीय क्रिकेटको पाँच हजारौँ खेलका रूपमा इतिहासमा दर्ज भएको छ । उक्त खेलमा स्कटल्यान्डले क्यानडालाई नौ रनले पराजित गरेको छ ।

एकदिवसीय क्रिकेटको सुरुवात सन् १९७१ मा भएको थियो । टेस्ट क्रिकेट सुरु भएको ९४ वर्षपछि एकदिवसीय स्वरूप अस्तित्वमा आएको हो । अहिलेसम्म टेस्टका २ हजार ६२९ खेल भएका छन् भने एकदिवसीयले पाँच हजार खेलको यात्रा पूरा गरेको छ ।

सन् १९७१ देखि हालसम्म ५५ वर्षको अवधिमा २९ देशले एकदिवसीय क्रिकेट खेलेका छन् । यही स्वरूपबाट विश्वकपको अवधारणा अघि बढेको थियो । भारतले अहिलेसम्म सबैभन्दा बढी १ हजार ८१ एकदिवसीय खेल खेलेको छ, जसमा ५७५ खेलमा जित हात पारेको छ । खेल संख्याका आधारमा अस्ट्रेलिया दोस्रो स्थानमा छ भने जितका आधारमा अस्ट्रेलिया पहिलो स्थानमा रहेको छ । अस्ट्रेलियाले १ हजार २५ खेल खेल्दा ६१९ खेलमा जित हात पारेको छ । पाकिस्तानले १ हजार २ खेल खेलेको छ र ५२९ खेलमा जित हासिल गरेको छ।

घरेलु मैदानमा सबैभन्दा धेरै जित अस्ट्रेलिया र भारतको नाममा छ । अस्ट्रेलियाले घरेलु मैदानमा २९८ र भारतले २३५ खेल जितेको छ । तर विदेशी भूमिमा जितका आधारमा पाकिस्तान भारतभन्दा अगाडि छ । पाकिस्तानले विदेशी भूमिमा १७१ खेल जित्दा भारतले १६९ खेलमा जित हात पारेको छ ।

एकदिवसीय विश्वकपका १३ संस्करण आयोजना भइसकेका छन् । अस्ट्रेलियाले सबैभन्दा धेरै ६ पटक विश्वकपको उपाधि जितेको छ । भारत र वेस्ट इन्डिजले समान दुईपटक उपाधि जितेका छन् ।

एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै खेल खेल्ने कीर्तिमान भारतका सचिन तेन्दुलकरको नाममा छ । उनले ४६३ एकदिवसीय खेल खेलेका छन् । सबैभन्दा धेरै एकदिवसीय खेल खेल्ने खेलाडीको सूचीमा श्रीलंकाका चार, पाकिस्तानका तीन, भारतका दुई र अस्ट्रेलियाका एक खेलाडी छन् ।

एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउनेमा भारतका सचिन तेन्दुलकर पहिलो स्थानमा छन् । उनले १८ हजार ४२६ रन बनाएका छन् भने विराट कोहलीके १४ हजार ९४१ रन बनाएका छन् । त्यस्तै तेस्रोमा श्रीलंकाका कुमारा संगाकाराले १४ हजार २३४ रन बनाएका छन् ।

एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै शतक बनाउने कीर्तिमान विराट कोहलीको नाममा छ । उनले ५४ शतक बनाएका छन् भने सचिन तेन्दुलकर ४९ शतकसहित दोस्रो स्थानमा छन् ।

एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने खेलाडी श्रीलंकाका मुथैया मुरलीधरन हुन् । उनले ३५० खेलमा ५३४ विकेट लिएका छन् । एकदिवसीय क्रिकेटको एकै खेलमा पाँच वा सोभन्दा बढी विकेट लिने कीर्तिमान पाकिस्तानका वकार युनिसको नाममा छ । उनले १३ पटक एकै पारीमा पाँच वा त्यसभन्दा बढी विकेट लिएका छन् ।

एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै खेलमा कप्तानी गर्ने कीर्तिमान अस्ट्रेलियाका रिकी पोन्टिङको नाममा छ । उनले कप्तानका रूपमा २३० खेल खेलेका छन् । तीमध्ये १६५ खेलमा अस्ट्रेलियाले जित हात पारेको थियो ।

एकदिवसीय क्रिकेटमा एक खेलको पारीमा सर्वाधिक रन बनाउने कीर्तिमान रोहित शर्माको नाममा छ । उनले सन् २०१४ मा श्रीलंकाविरुद्ध २६४ रन बनाएका थिए । रोहित शर्मा एकदिवसीय क्रिकेटमा तीनपटक दोहोरो शतक बनाउने एकमात्र खेलाडी हुन् । एकदिवसीय क्रिकेटमा सर्वाधिक ३६९ छक्का प्रहार गर्ने कीर्तिमान पनि उनकै नाममा छ ।

एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै खेलाडी र शृंखलाका उत्कृष्ट खेलाडीको पुरस्कार जित्ने कीर्तिमान सचिन तेन्दुलकरको नाममा छ । भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनीको नाममा भने एकदिवसीय क्रिकेटमा सर्वाधिक १२३ पटक स्टम्पिङ गर्ने कीर्तिमान छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै