काठमाडौं । संघीय संसद सचिवालयको आयोजनामा निर्माणाधीन नयाँ संसद भवन परिसरमा 'एक सांसद, एक वृक्षारोपण' कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको शुभारम्भ प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले एभोकाडोको बिरुवा रोपेर गरेका थिए । कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, राष्ट्रिय सभाका उपाध्यक्ष माननीय लीलाकुमारी भण्डारीसहित प्रतिनिधि सभा र राष्ट्रिय सभाका माननीय सदस्यहरूको सहभागिता रहेको थियो।
संसद भवन परिसरलाई प्राकृतिक रूपमा समेत सुन्दर, हराभरा र आकर्षक बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सभामुख अर्यालले बताए । उनले सांसदहरूले आफूले रोपेको बिरुवाको कार्यकालभरि निरन्तर हेरचाह र संरक्षण गर्नुपर्नेमा जोड दिए ।
'आफूले रोपेको बिरुवालाई कार्यकालभरि निरन्तर रूपमा हेरचाह र संरक्षण पनि गर्नुपर्नेछ,' सभामुख अर्यालले भने ।
नयाँ संसद भवन निर्माण परियोजनाअन्तर्गत बगैँचा व्यवस्थापन शीर्षकमा संसद परिसरमा रोपिने विभिन्न प्रजातिका बोटबिरुवा तथा तिनको स्थानसमेत निर्धारण गरिएको थियो । कार्यक्रममा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूले करिब ५०० वटा विभिन्न प्रजातिका बिरुवा रोपेका थिए ।
कार्यक्रममा एभोकाडो, आरु, आरुबखडा, आँप, लिची, अम्बा, नासपाती, कपुर, बेलपत्र, बुद्धचित्त, रुद्राक्ष, तेजपात, ज्यामिरकाँड, हलुवाबेद, निम, पैयुँ, समी, गुलमोहरलगायतका फलफूल, औषधिजन्य तथा सौन्दर्यमूलक प्रजातिका बिरुवा रोपिएको थियो ।









