• २०८३ श्रावण २८ बिहीबार

हुलाक सेवा अब ‘सरकारी कुरियर’का रूपमा विस्तार हुँदै

हुलाक सेवा अब ‘सरकारी कुरियर’का रूपमा विस्तार हुँदै

काठमाडौँ । सरकारले हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री र नागरिकमैत्री बनाउँदै सरकारी कागजात तथा सामग्री घरदैलोसम्म पुर्‍याउने सेवाका रूपमा विस्तार गरेको छ ।

राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्रलगायत सामग्री हुलाकमार्फत नागरिकको घरसम्म पुर्‍याउने व्यवस्था कार्यान्वयनमा आएको छ । हुलाक सेवा विभागका अनुसार हुम्लाबाहेक देशका सबै जिल्लामा सरकारी कागजात घरमै पुर्‍याउने सेवा सञ्चालनमा आएको छ ।

साउन २७ गतेसम्म ७६ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा २ लाख ४७ हजार ४३ राहदानी ढुवानी गरिएकोमा ८ हजार ६६९ राहदानी सेवाग्राहीको घरमै पुर्‍याइएको छ । त्यस्तै, १० लाख ३८ हजार ८०८ सवारी चालक अनुमतिपत्र सम्बन्धित कार्यालयमा पुर्‍याइएको छ ।

शैक्षिक प्रमाणपत्र, स्वास्थ्य सामग्री तथा प्रयोगशालाका नमुना ढुवानीमा पनि हुलाकको प्रयोग बढेको विभागले जनाएको छ । नेपाल खुला विश्वविद्यालयसँगको सहकार्यमा शैक्षिक प्रमाणपत्र घरमै पुर्‍याउने सेवा सुरु भएको छ भने १७ अस्पतालका १ हजार ४८० प्रयोगशाला नमुना हुलाकमार्फत ढुवानी गरिएको छ ।

हुलाक सेवालाई थप व्यवस्थित बनाउन ५० वटा कार्यालयलाई ‘स्मार्ट हुलाक’का रूपमा विकास गर्ने तयारी गरिएको छ । सात अङ्कीय हुलाक सङ्केत प्रणाली, आन्तरिक निगरानी प्रणाली तथा सरकारी निकायसँग प्रत्यक्ष सूचना आदानप्रदानको व्यवस्था सुधार भइरहेको विभागले जनाएको छ ।

विभागले हुलाकलाई परम्परागत चिठीपत्र आदानप्रदानमा मात्र सीमित नराखी नागरिकलाई सरकारी सेवा घरदैलोसम्म पुर्‍याउने भरपर्दो सार्वजनिक सेवाका रूपमा विकास गर्ने लक्ष्य लिएको छ। यद्यपि आवश्यक सवारीसाधन, सूचना प्रविधिका उपकरण र व्यवस्थित ठेगाना प्रणालीको अभाव भने सेवा विस्तारमा चुनौती रहेको विभागले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै