काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । सङ्गीय संसद सचिवालयका अनुसार आज दिउसो १ बजेदेखि बैठक शुरु हुदैछ ।
आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले 'नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८३' पेस गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले (क) 'संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव, (ख) 'संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले (क) 'खानी तथा खनिज पदार्थ विधेयक, २०८३' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव, (ख) 'खानी तथा खनिज पदार्थ विधेयक, २०८३' प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले (क) मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव, (ख) 'मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३' प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै परराष्ट्रमन्त्री शिशिर खनालले (क) 'राहदानी (पहिलो संशोधन) विधेयक, २०८३' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र (ख) राहदानी (पहिलो संशोधन) विधेयक, २०८३' प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।









