काठमाडौं । परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले कन्सुलर प्रमाणीकरणसम्बन्धी सेवालाई सहज, पारदर्शी, व्यवस्थित, प्रभावकारी तथा प्रविधिमैत्री बनाउने उद्देश्यले विकास गरेको ‘नेपाल ई–प्रमाणीकरण प्रणालीको शुभारम्भ गरेको छ ।
बिहीबार आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले उक्त प्रणालीको औपचारिक शुभारम्भ गरेका हुन् ।
नयाँ प्रणाली सञ्चालनमा आएसँगै नेपालका विभिन्न सरकारी निकायबाट जारी भएका वा प्रमाणित गरिएका शैक्षिक प्रमाणपत्र, सिफारिस पत्र, आधारभूत कागजातलगायत अन्य विभिन्न कागजातको कन्सुलर प्रमाणीकरणका लागि अनलाइनबाट आवेदन दिन सकिने भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गरेको पहिलो निर्णयले आज मूर्तरूप लिएको भन्दै खुसी व्यक्त गरेका थिए । उनले यो प्रणालीले परराष्ट्र मन्त्रालयको समग्र सेवा प्रणालीलाई उदाहरणीय बनाउन महत्वपूर्ण योगदान पुग्ने बताए ।
कन्सुलर सेवा विभागका अनुसार सरकारी निकायबाट जारी तथा प्रमाणित कागजातको कन्सुलर प्रमाणीकरणका लागि अनलाइन आवेदन प्रक्रियालाई सहज बनाउनु प्रणालीको मुख्य उद्देश्य हो। यसले सेवा प्रवाहमा पारदर्शिता, प्रभावकारिता र जवाफदेहिता अभिवृद्धि गर्नुका साथै सेवाग्राहीलाई छिटो, सरल र सहज सेवा उपलब्ध गराउने लक्ष्य राखेको विभागले जनाएको छ ।
वैदेशिक अध्ययन, रोजगारी, आप्रवासन तथा अन्य प्रयोजनका लागि सरकारी निकायबाट जारी वा प्रमाणित कागजातको कन्सुलर प्रमाणीकरण आवश्यक पर्ने सेवाग्राहीले यस प्रणालीबाट प्रत्यक्ष लाभ लिन सक्ने विभागले जानकारी दिएको छ ।









