काठमाडौँ । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सुरु गरेको छ । पहिलो दिन बिहीबार वडा कार्यालयहरूको वार्षिक प्रगतिको समीक्षा गरिएको छ भने शुक्रबार महानगरका विभिन्न महाशाखाहरूको प्रगति समीक्षा गरिनेछ ।
समीक्षा कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले नागरिक सेवालाई छिटो, पारदर्शी र नागरिकमैत्री बनाउँदै विकास निर्माणका कामलाई थप प्रभावकारी बनाउन वडा सचिवहरूलाई निर्देशन दिए। वडा कार्यालयहरू नागरिकसँग प्रत्यक्ष जोडिने स्थानीय सरकारका निकाय भएकाले सेवा प्रवाहमा प्रभावकारिता, जवाफदेहिता र परिणाममुखी कार्यसम्पादनलाई प्राथमिकता दिनुपर्ने उनले बताए ।
उपप्रमुख मञ्जुदेवी गुरुङले वडा कार्यालयको सेवा प्रवाहलाई थप सुदृढ बनाउँदै सुशासन प्रवर्द्धन र परिणाममुखी कार्यसम्पादनमा जोड दिइन्। स्थानीय सरकारले नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा दिनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत जयराम पौडेलले प्रभावकारी सेवा प्रवाहमा जोड दिए भने नेपाली कांग्रेस संसदीय दलका नेता दिवसमान प्रधानाङ्गले समृद्ध महानगर निर्माणका लागि नागरिक सेवा, विकास निर्माण र मानव संसाधन विकासलाई प्राथमिकता दिनुपर्ने बताए ।
वडा अध्यक्षहरूको सहभागिता रहेको कार्यक्रममा विभिन्न वडा सचिवहरूले आर्थिक वर्ष २०८२/०८३ मा भएका विकास निर्माण, सेवा प्रवाह, प्रशासनिक कार्य तथा अन्य कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत गरेका थिए। कार्यक्रममा उपलब्धि, समस्या र आगामी कार्यदिशाबारे समेत छलफल गरिएको थियो।









