• २०८३ श्रावण २१ बिहीबार

दुई वर्षपछि शेख हसिनाको सम्बोधन: डिसेम्बरमा बंगलादेश फर्किन्छु, मृत्युदण्डसँग डराउँदिन !

दुई वर्षपछि शेख हसिनाको सम्बोधन:  डिसेम्बरमा बंगलादेश फर्किन्छु, मृत्युदण्डसँग डराउँदिन !

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छोडेको दुई वर्षपछि बुधबार पहिलो पटक भर्चुअल माध्यमबाट जनतालाई सम्बोधन गरेकी छन् ।

करिब २५ मिनेट लामो सम्बोधनका क्रममा उनले आफ्नो क्यामेरा भने बन्द राखेकी थिइन् । सम्बोधनमा हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने बताउदै जेल वा मृत्युदण्डको धम्कीले आफू नडराउने स्पष्ट पारिन् । 

उनले भनिन्- 'मलाई थाहा छ, उनीहरूले मलाई जेल हाल्न सक्छन् वा मार्न पनि सक्छन् । त्यसपछि पनि म डिसेम्बरमा बंगलादेश फर्किनेछु । जनताको साथ र समर्थन मेरो लागि सबैभन्दा महत्त्वपूर्ण छ । मृत्युदण्ड, झुटा मुद्दा र देखावटी सुनुवाइले मलाई डराउन सक्दैन । मविरुद्ध चलाइएको कानुनी प्रक्रिया गैरकानुनी, असंवैधानिक र राजनीतिक उद्देश्यबाट प्रेरित छ ।’

हसिनाले आफूले स्वेच्छाले बंगलादेश नछोडेको पनि बताइन् । प्रदर्शनकारीहरू प्रधानमन्त्री निवासतर्फ अघि बढेपछि त्यहाँबाट निस्कन आफूलाई केवल ३० देखि ४० मिनेटको समय मात्र मिलेको उनले उल्लेख गरिन् । उनका अनुसार त्यसबेला आफू देश छोड्न लागेको भन्ने पनि थाहा थिएन । उनी आफ्नो पुर्ख्यौली गाउँ तुङ्गीपाडा जाने तयारीमा थिइन्, तर परिस्थितिले देश नै छोड्न बाध्य बनायो ।

शेख हसिना सन् २०२४ को अगस्टदेखि भारतमा बस्दै आएकी छन् । विद्यार्थी आन्दोलनपछि उनको सरकार ढलेको थियो र त्यसपछि उनले ढाका छोड्नुपरेको थियो ।

गत वर्ष नोभेम्बरमा ढाकास्थित विशेष न्यायाधिकरणले सन् २०२४ को आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि गरिएको कारबाहीलाई मानवताविरुद्धको अपराध ठहर गर्दै हसिनालाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो । त्यसयता बंगलादेश सरकारले भारतसँग उनको प्रत्यर्पणको माग गर्दै आएको छ । हसिना अन्तिम पटक सन् २०२४ अगस्ट ५ मा सार्वजनिक रूपमा देखिएकी थिइन् । त्यसदिन उनी ढाकाबाट भारत पुगेकी थिइन् । त्यसयता उनी गोप्य स्थानमा बस्दै आएकी छन् । दुई वर्षपछि आयोजित भर्चुअल पत्रकार सम्मेलनमार्फत उनले आफ्नो धारणा सार्वजनिक गरे पनि अनुहार भने देखाइनन् । सञ्चारमाध्यमहरूका अनुसार क्यामेरामा देखिएमा उनको पृष्ठभूमि, बसोबासको स्थान वा सुरक्षा व्यवस्थासम्बन्धी विवरण सार्वजनिक हुन सक्ने जोखिमका कारण उनले क्यामेरा बन्द राखेकी हुन् ।

बंगलादेश सरकारले भारतको भूमिबाट शेख हसिनाले गर्ने राजनीतिक गतिविधिले दुई देशबीचको सम्बन्धमा असर पर्न सक्ने भन्दै चिन्ता व्यक्त गर्दै आएको छ । त्यसैले भारतको विदेश मन्त्रालयले यो निजी कार्यक्रमसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ ।

विश्लेषकहरूका अनुसार यदि हसिना भिडियोमार्फत प्रत्यक्ष देखिएर राजनीतिक सन्देश दिएकी भए, त्यसलाई भारतले उनलाई खुला राजनीतिक मञ्च उपलब्ध गराएको रूपमा व्याख्या गर्न सकिने अवस्था थियो ।

यसबाहेक बंगलादेशमा उनीविरुद्ध मृत्युदण्डको फैसला भइसकेको र उनको प्रत्यर्पणको मागसमेत भइरहेका कारण क्यामेरामा देखिँदा कानुनी तथा कूटनीतिक विवाद थप जटिल बन्न सक्ने आकलन गरिएको थियो । यही कारण उनले अनुहार नदेखाई केवल आवाजमार्फत मात्र सम्बोधन गरेको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै