• २०८३ श्रावण १८ सोमबार

पहिरो र नदी कटानका कारण यी सडक पूर्ण रूपमा अवरुद्ध

पहिरो र नदी कटानका कारण यी सडक पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ । देशभर लगातार भइरहेको वर्षाका कारण पहिरो, लेदो र नदी कटानले विभिन्न जिल्लाका प्रमुख सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार दोलखा, रसुवा, गोरखा, तेह्रथुम, म्याग्दी र ललितपुरका महत्वपूर्ण सडकखण्डमा सवारी आवागमन ठप्प भएको छ। केही स्थानमा वैकल्पिक मार्ग सञ्चालनमा ल्याइए पनि अधिकांश सडक खुलाउने प्रयास जारी रहेको छ ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा साउन ८ गते बिहान ८ बजे त्रिशूली नदीले कच्ची सडकमुनिबाट कटान गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी हुँदै जाने पासाङ ल्हामु सडकखण्ड पूर्ण रूपमा बन्द भएको छ ।

त्यस्तै गोरखाको धार्चे गाउँपालिका–३ अण्डरडाँडामा साउन १६ गते ढुंगा, माटोसहितको लेदो पहिरो खसेपछि लार्के–बेनीघाट कच्ची सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यस्तै, तेह्रथुमको लालीगुराँस नगरपालिका–९ काडेमा साउन १७ गते राति पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा बन्द भएको छ, जसका कारण पूर्व–पश्चिम आवागमनमा असर परेको छ ।

यसैगरी, म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसेरीमा साउन १८ गते सडकमाथिबाट लेदोसहितको पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको छ । सोही दिन बिहान ललितपुरको बागमती गाउँपालिका–३ पाङदुरमा अविरल वर्षाका कारण पहिरो खसेपछि कान्तिलोक पथ पनि पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ ।

प्रहरीले अवरुद्ध सडक खुलाउने काम सम्बन्धित निकायसँगको समन्वयमा भइरहेको जनाएको छ । वर्षा अझै जारी रहेकाले पहिरो प्रभावित सडकमा अत्यावश्यक बाहेक यात्रा नगर्न तथा यात्रा गर्नै परे सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै