• २०८३ श्रावण १७ आइतबार

ट्रम्पले किन रोके इरानमाथिको आक्रमण ?

ट्रम्पले किन रोके इरानमाथिको आक्रमण ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गरिने सम्भावित सैन्य आक्रमण तत्कालका लागि स्थगित गर्ने घोषणा गरे पछि यस बारे अनेक कोणबाट विश्लेषण भइरहेको छ । यससँगै मध्यपूर्वमा थप युद्ध चर्किने आशंका केही समयका लागि टरेको छ ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार यो निर्णयअघि ट्रम्पले साउदी अरबका युवराज मोहम्मद बिन सलमानसँग टेलिफोन संवाद गरेका थिए । यसअघि अमेरिका र साउदी अरबले संयुक्त रूपमा इराकमा इरान समर्थित समूहलाई लक्षित गर्दै सैन्य कारबाही गरेका थिए । त्यसपछि ट्रम्पले इरानमाथि थप ठूलो आक्रमण गर्न सक्ने अनुमान गरिएको थियो ।

यसबीच केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले आक्रमण भएमा इरानले खाडी क्षेत्रका प्रमुख तेल पूर्वाधारमा व्यापक आक्रमण गर्ने योजना तयार पारेको दाबी गरेका छन् । यस्तो अवस्था सिर्जना भए विश्वव्यापी तेल आपूर्तिमा गम्भीर असर पर्न सक्ने विश्लेषण गरिएको छ ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले शनिबार टर्की, पाकिस्तान र साउदी अरबका उच्च अधिकारीसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गर्दै अमेरिका वा उसका सहयोगीबाट आक्रमण भए इरानले निर्णायक जवाफ दिने चेतावनी दिएका थिए ।

उनले पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल आसिम मुनीर, टर्कीका विदेशमन्त्री हाकान फिदान तथा साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहानसँगको संवादमा इरानविरुद्ध कुनै पनि आक्रामक कदम चालिए त्यसको कडा प्रतिकार गरिने बताएका थिए ।

इरानसँग निकट सञ्चारमाध्यमहरूले अमेरिका वा इजरायलले ऊर्जा पूर्वाधारलाई निशाना बनाए इरानले साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार तथा इजरायलका तेल र ग्यास पूर्वाधारमा जवाफी आक्रमण गर्न सक्ने जनाएको छ ।

ती प्रतिवेदनहरूमा साउदी अरबको घवार तेल क्षेत्र, अबकैक तेल प्रशोधन केन्द्र र खुरैस तेल क्षेत्र, संयुक्त अरब इमिरेट्सको जाकुम तेल क्षेत्र र रुवाइस प्रशोधन केन्द्र तथा कतारको नर्थ फिल्ड ग्यास क्षेत्र सम्भावित निशानामा पर्न सक्ने उल्लेख गरिएको छ । यद्यपि इरानले यसबारे आधिकारिक रूपमा पुष्टि गरेको छैन ।

यसैबीच मध्यपूर्व मामिलाका विश्लेषकहरूले अमेरिका र इरानबीचको तनाव अझै पूर्ण रूपमा अन्त्य नभएको बताएका छन् । उनीहरूका अनुसार होर्मुज जलडमरूमध्य सञ्चालन र समुद्री मार्गको सुरक्षासम्बन्धी स्पष्ट सहमति नभएसम्म क्षेत्रीय तनाव फेरि बढ्न सक्ने जोखिम कायमै रहनेछ ।

विश्लेषकहरूको भनाइमा ट्रम्पको पछिल्लो घोषणा तत्कालका लागि तनाव कम गर्ने प्रयास भए पनि दीर्घकालीन समाधानका लागि अमेरिका र इरानबीच स्पष्ट सहमति आवश्यक रहेको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै