• २०८३ श्रावण १५ शुक्रबार

तार व्यवस्थापन गर्न आइस्पानलाई अन्तिम १५ दिनको समय

तार व्यवस्थापन गर्न आइस्पानलाई अन्तिम १५ दिनको समय

काठमाडौं । काठमाडौं उपत्यकामा वर्षौंदेखि विद्युत्का पोलमा अव्यवस्थित रूपमा झुन्डिएका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र केवलका तार व्यवस्थापनको काम तोकिएको समयभित्र सम्पन्न हुन नसकेपछि इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) ले अन्तिम पटक १५ दिनको थप समय मागेको छ।

शुक्रबार सूचना तथा सञ्चार मन्त्रालयमा बसेको सरोकारवाला निकायहरूको बैठकमा आइस्पानले काम सम्पन्न गर्न थप समय आवश्यक रहेको जनाएको हो। बैठकमा सूचना तथा सञ्चार मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, आइस्पान तथा अन्य सम्बन्धित निकायका प्रतिनिधिको सहभागिता रहेको थियो।

बैठकमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले अव्यवस्थित तार व्यवस्थापनको प्रगति, कार्यान्वयनका क्रममा देखिएका समस्या र समाधानका उपायबारे समीक्षा गर्दै तोकिएको समयसीमाभित्र काम सम्पन्न हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गरे। उनले सरकारले समस्या समाधानका लागि आवश्यक सहयोग गर्न तयार रहेको उल्लेख गर्दै अब परिणाम देखिने गरी काम गर्न निर्देशन दिए।

उनले सरकारले अव्यवस्थित तार व्यवस्थापनको काम निष्कर्षमा पुर्‍याउने स्पष्ट गर्दै अब अनिश्चित रूपमा समय थप्ने अवस्था नरहेको बताए। साथै, काममा देखिएका समस्या समयमै जानकारी गराउन र समाधानका लागि सरकारसँग समन्वय गर्न आइस्पानलाई आग्रह गरे।

उनले तोकिएको समयमा काम सम्पन्न हुन नसक्नु आइस्पान र नियामक नेपाल दूरसञ्चार प्राधिकरण दुवैको कमजोरी भएको टिप्पणी गर्दै मन्त्रालयले पनि त्यसको जिम्मेवारी लिनुपर्ने बताए। सरकारले काम गर्ने क्रममा आउने समस्या समाधान गर्न सहयोग गर्ने तर काम नगर्ने प्रवृत्ति स्वीकार्य नहुने उनको भनाइ थियो। यसअघि साउन १५ भित्र काम सक्ने प्रतिबद्धता जनाइसकेको आइस्पानले पुनः १५ दिनको समय मागेकाले अब त्यस अवधिमा काम सम्पन्न हुने विश्वसनीय आधार प्रस्तुत गर्नुपर्ने उनले बताए।

आइस्पानका प्रमुख कार्यकारी अधिकृत सुभास खड्काका अनुसार काठमाडौं उपत्यकामा पहिलो चरणअन्तर्गत निर्धारण गरिएका ६ वटा रुटमध्ये हालसम्म करिब ५८ प्रतिशत काम सम्पन्न भएको छ। काठमाडौंसँगै देशका अन्य स्थानमा पनि तार व्यवस्थापनको काम भइरहेको उनले जानकारी दिए। दीर्घकालीन समाधानका लागि छुट्टै पूर्वाधार कम्पनी स्थापना आवश्यक रहेको आइस्पानको धारणा छ।

आइस्पानले नेपाल विद्युत् प्राधिकरणले विद्युत् लाइन भूमिगत गर्दा इन्टरनेट तथा केवल सेवाका तारका लागि पर्याप्त पूर्वाधार निर्माण नगरेको गुनासो पनि गरेको छ। कलङ्की–थानकोट, चाबहिल–बौद्धलगायत क्षेत्रमा परीक्षणका रूपमा भूमिगत इन्टरनेट तार विस्तार भइरहेको र थप जनशक्ति परिचालन गर्ने तयारी भइरहेको जनाएको छ। साथै, सम्बन्धित निकायबाट पर्याप्त जनशक्ति नखटिने, प्रहरी तथा ट्राफिक प्रहरीले काममा अवरोध गर्ने र दक्ष प्राविधिकको अभावजस्ता समस्या रहेको पनि आइस्पानले जनाएको छ। अब उपलब्ध जनशक्तिलाई एउटै क्षेत्रमा केन्द्रित गरी कामलाई छिटो सम्पन्न गर्ने रणनीति अपनाइने बताइएको छ।

गत असार ३१ गते सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा बसेको उच्चस्तरीय बैठकमा आइस्पानले काठमाडौं उपत्यकाका ६ वटा क्षेत्रमा साउन १५ भित्र तार व्यवस्थापन सम्पन्न गर्ने प्रतिबद्धता जनाएको थियो। पहिलो चरणमा त्रिपुरेश्वर–कालिमाटी–कलङ्की, जडीबुटी–पेप्सीकोला, त्रिपुरेश्वर–लाजिम्पाट, सामाखुशी–टाउन प्लानिङ–गोंगबु, कीर्तिपुर क्षेत्र तथा पुरानो बानेश्वर–गौशाला–चाबहिल रुटमा अव्यवस्थित तार व्यवस्थापन गर्ने लक्ष्य तय गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै