काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।
जिल्ला सुरक्षा समितिको साउन ११ गते बसेको बैठकको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारीले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम सोमबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन् ।
निषेधाज्ञा अवधिभर तोकिएको क्षेत्रमा एकै स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, जम्मा हुन तथा समूहगत गतिविधि गर्न नपाइने प्रशासनले जनाएको छ।
प्रशासनका अनुसार निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई पाँच सय रुपैयाँसम्म जरिवाना र एक महिनासम्म कैद सजाय हुन सक्ने व्यवस्था रहेको छ।
निषेधाज्ञा लागू भएका क्षेत्रमा हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकाको सम्पूर्ण क्षेत्र रहेका छन् ।
जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई आदेशको पूर्ण पालना गर्दै शान्ति, सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्न सहयोग गर्न आग्रह गरेको छ ।
गएराती सुनसरीको कप्तानगन्जमा दुई समूहबीच बढेको विवाद नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ ।
साउने सोमबारका अवसरमा बोलबम यात्राका लागि सप्तकोसी नदीतर्फ जान युवाहरूको एउटा समूह डिजे बजाउँदै तयारी गरिरहेको बेला अर्को समूहले रातिको समयमा होहल्ला र अवरोध पुगेको भन्दै आपत्ति जनाएपछि दुई पक्षबीच विवाद भएको स्थानीयले बताएका छन् ।









