• २०८३ श्रावण ४ सोमबार

भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता

भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता

काठमाडौँ । भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा गरिएको छ । यस वर्ष हिन्दी अभिनेता कार्तिक आर्यन र मलयालम चलचित्रका वरिष्ठ अभिनेता ममुट्टी संयुक्त रूपमा उत्कृष्ट अभिनेताबाट सम्मानित भएका छन् भने अभिनेत्री यामी गौतम उत्कृष्ट अभिनेत्री घोषित भएकी छन् ।

कार्तिक आर्यनले ‘चन्दु च्याम्पियन’ र ममुट्टीले ‘ब्रमायुगम’ चलचित्रका लागि उत्कृष्ट अभिनेताको पुरस्कार प्राप्त गरेका हुन् । यामी गौतमलाई ‘आर्टिकल ३७०’ मा गरेको अभिनयका लागि उत्कृष्ट अभिनेत्रीको पुरस्कार प्रदान गरिएको छ ।

राजकुमार राव अभिनीत ‘श्रीकान्त’ उत्कृष्ट हिन्दी फिचर चलचित्र घोषित भएको छ भने ‘आर्टिकल ३७०’ ले उत्कृष्ट फिचर चलचित्रको सम्मान हात पारेको छ । सङ्गीत निर्देशनतर्फ तमिल चलचित्र ‘अमरण’ का लागि जी.भी. प्रकाश कुमार उत्कृष्ट सङ्गीत निर्देशक बनेका छन् । हिन्दीतर्फ ‘आर्टिकल ३७०’ का लागि शाश्वत सचदेव उत्कृष्ट सङ्गीत निर्देशक घोषित भएका छन् ।

तेलुगु चलचित्र ‘पुष्पा–द रुल’ ले उत्कृष्ट पोसाक डिजाइनको पुरस्कार जित्दा ‘कल्कि २८९८ एडी’ ले उत्कृष्ट निर्माण डिजाइन तथा सम्पूर्ण मनोरञ्जन प्रदान गर्ने उत्कृष्ट लोकप्रिय चलचित्रको पुरस्कार प्राप्त गरेको छ ।

सम्पादनतर्फ तमिल चलचित्र ‘अमरण’ उत्कृष्ट घोषित भएको छ भने ध्वनि डिजाइनतर्फ हिन्दी चलचित्र ‘भूल भुलैया ३’ ले पुरस्कार जितेको छ। उत्कृष्ट पटकथाको पुरस्कार तेलुगु चलचित्र ‘लकी भास्कर’ लाई प्रदान गरिएको छ । अभिनेता रणदीप हुड्डाले ‘स्वातन्त्र्यवीर सावरकर’ मार्फत उत्कृष्ट डेब्यु निर्देशकको पुरस्कार प्राप्त गरेका छन् । गैरफिचर विधातर्फ हिन्दी वृत्तचित्र ‘राम–नामी’ उत्कृष्ट वृत्तचित्र घोषित भएको छ । कला तथा संस्कृतिसम्बन्धी उत्कृष्ट चलचित्रको पुरस्कार ‘मैँ निदा’ लाई प्रदान गरिएको छ भने सामाजिक तथा वातावरणीय सन्देश प्रवर्द्धन गर्ने उत्कृष्ट गैरफिचर चलचित्रको पुरस्कार ‘पिपलान्तरी–ए टेल अफ इको फेमिनिज्म’ ले जितेको छ । मूक चलचित्र ‘टच्ड एज वाटर’ उत्कृष्ट एनिमेसन चलचित्र घोषित भएको छ ।

‘स्ट्याचु अफ युनिटी–एकताको प्रतीक’ का लागि आनन्द एल राय उत्कृष्ट निर्देशक बनेका छन् । मराठी चलचित्र ‘हमसफर’ उत्कृष्ट लघु चलचित्र घोषित भएको छ। हिन्दी चलचित्र ‘एनडीए’ का लागि मानवीर जसरोतिया उत्कृष्ट सम्पादक बनेका छन् भने तमिल चलचित्र ‘ब्लु’ का लागि टी.एस. हरिहर सुधन उत्कृष्ट ध्वनि डिजाइनर घोषित भएका छन् । छायाङ्कनतर्फ ‘लाइफ इन लुम’ का लागि एडमन्ड रेन्सम सम्मानित भएका छन्। मराठी चलचित्र ‘अन द ट्रेल ४१ डिग्री’ का लागि शिवपाल सिंह काङ उत्कृष्ट सङ्गीत निर्देशक बनेका छन् ।

गैरफिचर विधामा उत्कृष्ट पटकथाको पुरस्कार हिन्दी कश्मीरी लघु चलचित्र ‘ओबुर’ का लागि फराज अलीलाई प्रदान गरिएको छ। उत्कृष्ट वाचनतर्फ ‘लिटल प्लानेट–ए टेल अफ फ्रग्स’ का लागि सौन्दर्य चयचन्द्रन सम्मानित भएका छन् ।

चलचित्रसम्बन्धी उत्कृष्ट लेखनतर्फ हिन्दीका चलचित्र समीक्षक सञ्जीव श्रीवास्तव पुरस्कृत भएका छन्। विशेष उल्लेख पुरस्कार हिन्दी चलचित्र ‘चोला डोरा और सुई’ तथा मलयालम चलचित्र ‘भद्र काली नाटकम’ लाई प्रदान गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै