काठमाडौँ । दक्षिण भारतीय अभिनेता प्रभास अभिनीत आगामी चलचित्र ‘फौजी’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।
प्रभासको ४६औँ जन्मदिनको अवसरमा पहिलो पोस्टर सार्वजनिक गरिएको हो भने निर्माण पक्षले नयाँ पोस्टरसँगै चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेको छ । निर्माण पक्षका अनुसार ‘फौजी’ आगामी डिसेम्बर ३ मा विश्वभरका चलचित्र हलमा प्रदर्शन हुनेछ ।
नयाँ पोस्टरमा प्रभासलाई युद्धभूमिमा देखाइएको छ । हिलोले भरिएको शरीर, हातमा बन्दुक र घाँटीमा जनै लगाएको अवस्थामा देखिएका प्रभासको लुक निकै प्रभावशाली र गम्भीर देखिन्छ। पोस्टरमा युद्धको भयावह दृश्य प्रस्तुत गरिएको छ ।
‘फौजी’ सन् १९४० को ब्रिटिस भारतको पृष्ठभूमिमा आधारित युद्ध, प्रेम र द्वन्द्व समेटिएको चलचित्र हो। यसमा प्रभासले सैनिकको भूमिका निर्वाह गर्नेछन् ।
चलचित्रमा प्रभाससँगै मिथुन चक्रवर्ती र अनुपम खेर लगायतका कलाकारको पनि महत्वपूर्ण भूमिका रहनेछ । चलचित्रको संगीत विशाल चन्द्रशेखरले तयार गरिरहेका छन् भने निर्माण मैत्री चलचित्र निर्माता संस्थाले गरेको हो । चलचित्रको निर्देशन हनु राघवपुडीले गरेका छन् ।
यसका साथै प्रभास अर्को चलचित्र ‘स्पिरिट’मा पनि देखिनेछन् । उक्त चलचित्र सन् २०२७ मार्च ५ मा प्रदर्शन हुने घोषणा भइसकेको छ। ‘स्पिरिट’मा प्रभाससँगै तृप्ति डिमरी मुख्य भूमिकामा रहनेछिन् ।









