काठमाडौँ । बलिवुडमा २०१४ मा प्रदर्शन भएको सुपरहिट चलचित्र ‘क्वीन’ फिल्मको सिक्वेल बनाउने विषय विवादमा परेको छ ।
क्वीन निर्माण गर्ने कम्पनी फ्यान्टम स्टुडियोजले जियोस्टारविरुद्ध बम्बई उच्च अदालतमा मुद्दा दायर गरेको छ । कम्पनीले आफ्नो अनुमति बिना ‘क्वीन २’ निर्माण भइरहेको दाबी गर्दै चलचित्रको प्रदर्शन रोक्न र २५० करोड भारतीय रुपैयाँ क्षतिपूर्तिको माग गरेको छ ।
फ्यान्टम स्टुडियोजका अनुसार ‘क्वीन’ निर्माणका बेला भएको सम्झौतामा भविष्यमा चलचित्रको सिक्वेल वा प्रिक्वेल बनेमा त्यसको अधिकार दुवै पक्षबीच बराबरी रहने उल्लेख थियो । तर ‘क्वीन २’ निर्माणका लागि आफूहरूको स्वीकृति नलिइएको कम्पनीको आरोप छ । कम्पनीले गत वर्षको मे महिनादेखि जियोस्टारसँग निरन्तर सम्पर्क गर्ने प्रयास गरे पनि कुनै प्रतिक्रिया नपाएको जनाएको छ । यता, जियोस्टारले भने ‘क्वीन २’ मूल चलचित्रको सिक्वेल नभएको दाबी गरेको छ । कम्पनीका अनुसार यो पूर्ण रूपमा नयाँ कथा भएको चलचित्र हो, जसको सन् २०१४ मा प्रदर्शन भएको ‘क्वीन’ सँग कथा वा पात्रका हिसाबले कुनै सम्बन्ध नरहेको बताएको छ । साथै ‘क्वीन’ सामान्य अंग्रेजी शब्द भएकाले त्यसमा कसैको एकल अधिकार हुन नसक्ने जियोस्टारको भनाइ छ ।
सन् २०१४ मा प्रदर्शन भएको ‘क्वीन’को निर्देशन विकास बहलले गरेका थिए भने पटकथा अन्विता दत्तले लेखेकी थिइन् । चलचित्रले उत्कृष्ट चलचित्रतर्फ राष्ट्रिय पुरस्कार जितेको थियो भने कंगना रनावत उत्कृष्ट अभिनेत्री घोषित भएकी थिइन् । कम बजेटमा निर्माण भएको ‘क्वीन’ले प्रदर्शनपछि बक्स अफिसमा उल्लेखनीय व्यापार गरेको थियो र दर्शकमाझ अत्यधिक लोकप्रिय बनेको थियो ।
हाल ‘क्वीन २’को प्रदर्शन मिति र कलाकारबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन । तर कानुनी विवादका कारण चलचित्र अहिले चर्चाको विषय बनेको छ ।









