• २०८३ असार २६ शुक्रबार

गणेश नेपालीको परिवारलाई क्षतिपूर्ति तथा भरणपोषणको व्यवस्था गर्न माग

गणेश नेपालीको परिवारलाई क्षतिपूर्ति तथा भरणपोषणको व्यवस्था गर्न माग

काठमाडौं । प्रहरी प्रशासनको दबाबको प्रतिरोधका क्रममा आत्मदाह गरेका राइड शेयरिङ श्रमिक गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको छ । नेपालीको निधनप्रति विभिन्न राइडर युनियनहरूले दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

राइडर्स युनियन नेपाल, नेपाल प्लाटफर्म वर्कर्स युनियन लगायतका संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् । विज्ञप्तिमा गणेश नेपालीको मृत्युले गिग तथा प्लाटफर्ममा आधारित यातायात र सेवा क्षेत्रमा कार्यरत श्रमिकहरू स्तब्ध भएको उल्लेख गरिएको छ ।

युनियनहरूले विगतदेखि उठाउँदै आएका श्रमिक अधिकारसम्बन्धी मागहरूलाई अझ दृढताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, सरकार र सम्बन्धित रोजगारदातासँग मृतकका परिवारलाई क्षतिपूर्ति तथा आश्रित परिवारको भरणपोषणको व्यवस्था गर्न माग गरेका छन् ।

यसैबीच, नेपालका गिग तथा प्लाटफर्ममा आधारित श्रमिकहरूले सरकारसमक्ष विभिन्न मागसहित ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा पछिल्लो दशकमा गिग तथा प्लाटफर्म अर्थतन्त्र विस्तार भए पनि यस क्षेत्रमा कार्यरत लाखौं श्रमिकहरू श्रम अधिकार, सामाजिक सुरक्षा र सुरक्षित कार्य वातावरणबाट वञ्चित रहेको उल्लेख गरिएको छ ।

श्रमिकहरूले प्लाटफर्म कामदारलाई श्रम ऐनअनुसार संगठित हुने र सामूहिक सौदाबाजीको अधिकार सुनिश्चित गर्न माग गरेका छन् । साथै, अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) द्वारा पारित प्लाटफर्म अर्थतन्त्रसम्बन्धी मर्यादित कामको मापदण्ड अनुमोदन गर्न र सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै गिग तथा प्लाटफर्म श्रमिकको अधिकार संरक्षण गर्ने कानुन निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् ।

उनीहरूले श्रमिक, रोजगारदाता र सरकारका प्रतिनिधि सम्मिलित त्रिपक्षीय संवाद समिति गठन गर्न, राइड शेयरिङसम्बन्धी विवाद समाधानका लागि श्रम अदालतमा निःशुल्क र द्रुत सेवा व्यवस्था गर्न पनि माग गरेका छन् ।

त्यस्तै, इन्धनको मूल्य, पूर्वाधार खर्च र जीवनयापनको बढ्दो लागतलाई आधार बनाएर राइड शेयरिङको भाडादर समायोजन गर्नुपर्ने मागसमेत ज्ञापनपत्रमा उल्लेख छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै