• २०८३ असार २६ शुक्रबार

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बरमा भारतबाट बंगलादेश फर्किएर अदालतमा आत्मसमर्पण गर्ने घोषणा गरेकी छन् । उनले आफूसँगै अवामी लिगका धेरै वरिष्ठ नेताहरू पनि स्वदेश फर्किएर कानुनी प्रक्रियामा सहभागी हुने बताएकी छन् । हसिनाले अवामी लिगका नेता तथा कार्यकर्तामाथि निरन्तर मुद्दा दर्ता भइरहेको र धेरैजना लुकेर बस्न बाध्य भएको दाबी गरे पनि स्वदेश फर्किने मिति भने खुलाएकी छैनन् ।

समाचार संस्था रायटर्ससँगको अन्तर्वार्तामा हसिनाले बंगलादेश फर्किने विषयमा सरकारसँग कुनै प्रकारको वार्ता नभएको स्पष्ट पारेकी छन् । लोकतन्त्र, निर्वाचन, अवामी लिगको राजनीतिक अधिकार र न्यायजस्ता विषयमा गोप्य सहमति हुन नसक्ने उनको भनाइ छ । साथै, बंगलादेश सरकारले आफूलाई फिर्ता पठाइदिन भारतलाई पटक-पटक पत्राचार गरिरहेको दाबी गर्दै उनले आफु मलाई फर्काइरहनु नपर्ने र आफै फर्किने बताएकी छन् । यद्यपि, यस दाबीबारे बंगलादेश सरकार र भारतले हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

सन् २०२४ मा सरकारविरोधी विद्यार्थी आन्दोलनपछि हसिना भारत गएकी थिइन् । त्यसपछि विद्यार्थी आन्दोलनमाथि भएको दमनसँग सम्बन्धित मुद्दामा उनलाई अनुपस्थितिमै मृत्युदण्ड सुनाइएको थियो, जसलाई उनले निरन्तर अस्वीकार गर्दै आएकी छन् । जेल जान आफूलाई कुनै डर नभएको बताउँदै उनले लामो समय शासन गर्ने कुनै पनि सरकारबाट कमजोरी हुन सक्ने र त्यसको अन्तिम फैसला अदालतले नभई जनताले गर्नुपर्ने धारणा व्यक्त गरिन् । संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनअनुसार सन् २०२४ को आन्दोलनका क्रममा करिब एक हजार चार सय जनाको मृत्यु भएको उल्लेख गरिएको छ ।

यसैबीच, चार दिनअघि राजधानी ढाकानजिक सावरमा शेख हसिना विरोधी र्‍यालीका क्रममा बम विस्फोट हुँदा तीन जना घाइते भएका थिए । उक्त कार्यक्रममा राष्ट्रिय नागरिक पार्टीका वरिष्ठ नेता तथा विद्यार्थी आन्दोलनका प्रमुख अगुवा नाहिद इस्लामसहितका नेताहरू उपस्थित थिए । विस्फोटको कारण खुल्न नसकेको र अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन् ।

उता बंगलादेश सरकारले भने हसिनालाई स्वदेश फर्काएर अदालतमा उपस्थित गराउने प्रयास जारी रहेको जनाएको  छ। विदेश राज्यमन्त्री शमा ओबैद इस्लामका अनुसार हसिनाको प्रत्यर्पणका लागि कूटनीतिक तहमा निरन्तर पहल भइरहेको छ । उनले अन्तर्राष्ट्रिय कानुन र कानुनी प्रक्रियाअनुसार प्रत्यर्पण हुने भएकाले यसमा समय लाग्नु स्वाभाविक रहेको बताइन् । भारतले यस विषयमा सहयोग गरिरहेको हो वा होइन भन्ने प्रश्नमा भने उनले प्रत्यक्ष जवाफ दिइनन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै