काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिको स्वागत गरेको छ ।
सिबिफिनले मूल्य स्थिरता, वित्तीय क्षेत्रको स्थायित्व, नियामकीय सरलीकरण तथा समग्र आर्थिक सन्तुलन कायम गर्ने उद्देश्यसहित ल्याइएका व्यवस्थाले वित्तीय प्रणाली र निजी क्षेत्रलाई सकारात्मक सन्देश दिएको जनाएको छ ।
सिबिफिनले रुग्ण उद्योगका निष्क्रिय कर्जाको व्यवस्थापन, दबाबमा रहेका कर्जाको पुनरुत्थान, नीतिगत दर तथा विभिन्न मौद्रिक उपकरण यथावत् राख्ने निर्णय, बैंक शाखा सञ्चालनलाई थप लचिलो बनाउने, डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने तथा विदेशी सरकारी ऋणपत्रमा लगानीको व्यवस्था जस्ता कदमलाई दूरदर्शी र सकारात्मक भएको उल्लेख गरेको छ ।
यद्यपि जोखिममा आधारित कर्जा नोक्सानी व्यवस्था, पूँजी कोष पर्याप्तता तथा विवेकशील नियमन सुधारलगायत आफूले दिएका केही सुझाव यसपटक सम्बोधन हुन नसकेको सिबिफिनको भनाइ छ। ती विषयलाई नेपाल राष्ट्र बैंकले आगामी एकीकृत निर्देशनमार्फत अध्ययन गरेर व्यावहारिक रूपमा समेट्ने अपेक्षा पनि परिसंघले व्यक्त गरेको छ ।
सिबिफिनले मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट बैंकिङ प्रणाली थप सबल, प्रतिस्पर्धी र सक्षम बन्नुका साथै निजी क्षेत्रको पुनरुत्थान र समग्र अर्थतन्त्रलाई गति मिल्ने विश्वास व्यक्त गर्दै नेपाल राष्ट्र बैंक र सरकारसँग निरन्तर सहकार्य र रचनात्मक संवादका लागि प्रतिबद्ध रहेको जनाएको छ।









