काठमाडौँ । फिफा विश्वकप फुटबल अन्तर्गत अन्तिम १६ को रोमाञ्चक भिडन्तमा आज राति अर्जेन्टिना र इजिप्ट आमनेसामने हुँदैछन् । एटलान्टा स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार ९: ४५ बजेदेखि शुरु हुदैछ ।
केप भर्डेमाथि ३-२ को कठिन जित निकाल्दै अन्तिम १६ मा पुगेको अर्जेन्टिनाका लागि लियोनेल मेसीले प्रतियोगितामा सात गोल गरिसकेका छन् । उनले लगातार दुई विश्वकपमा सात वा सोभन्दा बढी गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका थिए । त्यसपछि फ्रान्सका केलियन एम्बाप्पे र नर्वेका एर्लिङ हालान्ड पनि सात-सात गोलमा पुगेका छन् । ३९ वर्षीय मेसीले इजिप्टविरुद्ध गोल गरेमा सन् १९३० मा गिलेर्मो स्टाबिलेपछि एकै विश्वकपमा आठ गोल गर्ने दोस्रो अर्जेन्टिनी खेलाडी बन्नेछन् । साथै विश्वकपको पहिलो पाँच खेलमै गोल गर्ने इतिहासका छैटौं खेलाडीको सूचीमा पनि उनी समावेश हुनेछन् ।
अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने छोटो विश्राम र गर्मी मौसमका कारण खेलाडीको शारीरिक अवस्थाप्रति चिन्तित छन् । केप भर्डेविरुद्ध फाकुन्डो मेदिना, एन्जो फर्नान्डेज र निकोलास गोन्जालेज मांसपेशीको समस्याबाट प्रभावित भएका थिए । स्कालोनीले टोलीले कमजोरी सुधार्दै अगाडि बढ्ने बताएका छन् । अर्जेन्टिनाले विश्वकपका पछिल्ला १० खेलमा कम्तीमा दुई गोल गरेको छ । यसपटक पनि आक्रामक प्रदर्शन दोहोर्याउने लक्ष्यमा टोली हुनेछ । यता इजिप्टले पछिल्ला ६ विश्वकप खेलमा नौ गोल बेहोरे पनि आठ गोल गर्न सफल भएको छ ।
अर्कोतर्फ इजिप्टले अस्ट्रेलियालाई १-१ को बराबरीपछि पेनाल्टी सुटआउटमा ४-२ ले हराएर अन्तिम १६ मा स्थान बनाएको हो । प्रतियोगितामा अपराजित रहेको इजिप्ट क्यामरुन, सेनेगल, घाना र मोरक्कोपछि विश्वकपको क्वार्टरफाइनल पुग्ने पाँचौं अफ्रिकी राष्ट्र बन्ने लक्ष्यमा छ । ह्यामस्ट्रिङ चोटको चिन्ताबीच पनि मोहम्मद सलाहले अस्ट्रेलियाविरुद्ध पूरा १२० मिनेट खेलेका थिए । उनले यस विश्वकपमा १६ अवसर सिर्जना गरिसकेका छन् र थप दुई अवसर सिर्जना गरे अफ्रिकी खेलाडीको कीर्तिमान बराबरी गर्नेछन् ।
अर्जेन्टिना र इजिप्टबीच विश्वकपमा यो पहिलो भेट हुनेछ । दुवै टोली सन् २००८ मा मैत्रीपूर्ण खेलमा मात्र आमनेसामने भएका थिए, जहाँ अर्जेन्टिनाले २-० को जित निकालेको थियो ।
अर्जेन्टिना विश्वकपमा अफ्रिकी टोलीविरुद्ध लगातार आठ खेल जित्दै आएको छ । यस संस्करणमा पनि उसले अल्जेरिया र केप भर्डेलाई पराजित गरिसकेको छ । इजिप्टलाई हराउन सके एउटै विश्वकप संस्करणमा तीन अफ्रिकी टोलीलाई हराउने पहिलो राष्ट्र बन्नेछ । यस खेलको विजेता जारी विश्वकपको क्वाटरफाइनलमा स्वीजरल्याण्ड र कोलोम्बियाबीचको विजेतासँग खेल्ने छ ।









