काठमाडौँ । युरोपेली फुटबल महासंघ (युइएफए) ले अमेरिकाका फरवार्ड फोलारिन बालोगुनमाथिको स्वतः लागू हुने प्रतिबन्ध कार्यान्वयन नगर्ने विश्व फुटबल महासंघको निर्णयप्रति कडा आपत्ति जनाएको छ ।
युइएफएले उक्त निर्णयलाई ‘अभूतपूर्व, बुझ्न नसकिने र कुनै पनि हिसाबले उचित ठहरिन नसक्ने’ भन्दै आलोचना गरेको हो ।
अमेरिकी टोलीका प्रमुख गोलकर्ता बालोगुन बोस्निया-हर्जेगोभिनाविरुद्धको खेलमा रातो कार्ड पाएपछि विश्वकपको अन्तिम १६ अन्तर्गत बेल्जियमविरुद्धको खेलमा खेल्न नपाउने अपेक्षा गरिएको थियो । तर विश्व फुटबल महासंघ (फिफा) ले तत्काल प्रतिबन्ध लागू नगर्ने निर्णय गरेपछि २५ वर्षीय बालोगुन उक्त खेलका लागि उपलब्ध हुने भएका छन् ।
युइएफएले प्रतियोगिताका क्रममा यसरी स्वतः लागू हुने प्रतिबन्ध हटाउने निर्णयले फुटबलका नियम र निष्पक्षताको सीमारेखा नै पार गरेको जनाएको छ ।
यस विश्वकपमा हालसम्म देखाइएका १८८ रातो कार्डमध्ये केवल एक खेलाडीले मात्र प्रतिबन्धबाट छुट पाएका छन् । यसअघि सन् १९६२ को विश्वकपमा ब्राजिलका गारिन्चा प्रतिबन्धबाट जोगिएका थिए । त्यतिबेला स्वतः प्रतिबन्धको व्यवस्था थिएन र उक्त घटनामा राजनीतिक हस्तक्षेप भएको आरोपसमेत लागेको थियो ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार विश्व फुटबल महासंघका अध्यक्ष जियानी इन्फान्टिनोलाई फोन गरी बालोगुनमाथिको प्रतिबन्धबारे छलफल गरेको दाबि गरिएको छ । त्यसपछि महासंघले प्रतिबन्ध लागू नगर्ने निर्णय गरेको बताइएको छ ।
राष्ट्रपति ट्रम्पले आइतबार सामाजिक सञ्जालमार्फत विश्व फुटबल महासंघलाई ‘ठूलो अन्याय सच्याएको’ भन्दै धन्यवाद दिएका थिए ।
विश्व फुटबल महासंघका पूर्वअध्यक्ष सेप ब्लाटरले पनि सामाजिक सञ्जालमार्फत फुटबल राजनीतिक शक्तिको खेल मैदान बन्न नहुने टिप्पणी गरेका छन् । युरोपेली फुटबल महासंघले एक खेलको स्वतः प्रतिबन्ध कुनै वैकल्पिक व्यवस्था नभई प्रतियोगिताको नियममा स्पष्ट रूपमा उल्लेख गरिएको सिद्धान्त भएको जनाएको छ ।
महासंघले जारी गरेको विज्ञप्तिमा नियम कार्यान्वयन गर्ने निकायबाटै नियमको निश्चितता सुनिश्चित हुन नसके खेलको निष्पक्षता र प्रतियोगिताको विश्वसनीय तामाथि गम्भीर प्रश्न उठ्ने उल्लेख गरिएको छ । महासंघले यस्तो निर्णयले जारी विश्वकपमा यस्तै प्रकृतिका अन्य घटनामा पनि समान व्यवहारको माग उठ्ने अवस्था सिर्जना गर्ने र त्यसले प्रतियोगिताको समग्र विश्वसनीयतामा नकारात्मक असर पर्ने चेतावनी दिएको छ ।
विश्वकपको अन्तिम १६ अन्तर्गतको प्रतिष्पर्धामा भोली बिहान ५: ४५ बजेदेखि अमेरिका र बेल्जियम आमने सामने हुदैछन् ।









