• २०८३ असार २३ मंगलबार

इङ्ग्ल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा, आयोजक मेक्सिको बाहिरियो

इङ्ग्ल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा, आयोजक मेक्सिको बाहिरियो

काठमाडौँ । इङ्ग्ल्यान्डले फिफा विश्वकप फुटबलको अहिलेसम्मकै आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै सहआयोजक मेक्सिकोलाई ३-२ ले पराजित गरेको छ। रोमाञ्चक जितसँगै इङ्ग्ल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गर्दै नर्वेसँगको भेट पक्का गरेको हो ।

मेक्सिकोको ऐतिहासिक एस्टेका रङ्गशालामा भीषण वर्षा र आँधीका कारण खेल एक घण्टा ढिलो सुरु भएको थियो । दोस्रो हाफको सुरुआतमै जारेल क्वान्साह रातो कार्ड खाएर मैदानबाट बाहिरिए पनि १० खेलाडीमा सीमित इङ्ग्ल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण जित निकाल्न सफल भयो ।

घरेलु समर्थकको ठूलो दबाबबीच खेलिएको प्रतिस्पर्धामा इङ्ग्ल्यान्डले पहिलो हाफको अन्त्यतिर खेल आफ्नो पक्षमा मोडेको थियो । जुड बेलिङ्घमले ९८ सेकेन्डको अन्तरमा दुई गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाएका थिए ।

मेक्सिकोका लागि जुलियन क्विनोनेसले पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा शक्तिशाली प्रहारमार्फत एक गोल फर्काउँदै खेललाई २-१ मा ल्याएका थिए। इङ्ग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफोर्डले राउल जिमेनेजका दुई उत्कृष्ट अवसर बचाउँदै टोलीलाई खेलमा टिकाइराखेका थिए ।

दोस्रो हाफमा क्वान्साहले जेसस गालार्डोमाथि खतरनाक ट्याकल गरेपछि रातो कार्ड पाए । त्यसपछि घरेलु टोलीले आक्रमण तीव्र बनाएको थियो ।

तर एन्थोनी गोर्डनलाई मेक्सिकाका गोलरक्षक राउल राङ्गेलले पेनाल्टी क्षेत्रमा लडाएपछि प्राप्त पेनाल्टीलाई कप्तान ह्यारी केनले गोलमा परिणत गर्दै इङ्ग्ल्यान्डलाई ३-१ को अवस्थामा पुर्‍याए । खेलको अन्त्यतिर भने केनकै गल्तीका कारण मेक्सिकोले अर्को पेनाल्टी पायो । ब्रायन गुटिएरेजलाई पेनाल्टी क्षेत्रमा लडाएपछि प्राप्त अवसरलाई राउल जिमेनेजले सदुपयोग गर्दै अन्तर ३-२ मा झारेका थिए । बाँकी समयमा मेक्सिकोले बराबरी गोलका लागि निरन्तर दबाब बनाए पनि प्रशिक्षक थोमस टुचेलले ड्यान बर्न र जेड स्पेन्सलाई मैदानमा उतार्दै पाँच सदस्यीय रक्षापङ्क्ति बनाए । इन्जुरी समयको ११ मिनेटसम्म दबाब झेलेको इङ्ग्ल्यान्डले अन्ततः अग्रता जोगाउँदै महत्वपूर्ण जित हात पार्यो ।

अब इङ्ग्ल्यान्डले सेमिफाइनल प्रवेशका लागि क्वार्टरफाइनलमा नर्वेको सामना गर्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै