• २०८३ असार ११ बिहीबार

विश्वकपमा समुह डी का अन्तिम आज बिहान हुदै, कस्तो छ समीकरण ?

विश्वकपमा समुह डी का अन्तिम आज बिहान हुदै, कस्तो छ समीकरण ?

काठमाडौँ । जारी फिफा फुटबल विश्वकप अन्तर्गत समूह ‘डी’ का अन्तिम खेलहरू आज बिहान हुदैछन् । सहआयोजक अमेरिका यसअघि नै समूह विजेताका रूपमा अन्तिम ३२ मा पुगिसकेको छ भने अस्ट्रेलिया र पाराग्वे दोस्रो स्थानका लागि प्रतिस्पर्धामा छन् । त्यस्तै टर्की भने लगातार दुई हारसँगै प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

आज नेपाली समय अनुसार बिहान ७: ४५ बजेदेखि अमेरिका र टर्की तथा अस्ट्रेलिया र पाराग्वे आमने सामने हुदैछन् ।

अमेरिकाले पहिलो खेलमा पाराग्वेलाई ४-१ ले हराएको थियो भने दोस्रो खेलमा अस्ट्रेलियालाई २-० ले पराजित गर्दै समूह ‘डी’ को शीर्ष स्थान सुरक्षित गरिसकेको छ । दुई खेलमा ६ गोल गरेको अमेरिका यस विश्वकपको प्रभावशाली टोलीमध्ये एक बनेको छ ।

प्रशिक्षक मौरिसियो पोचेट्टिनोको टोलीका फरवार्ड फोलारिन बालोगुन उत्कृष्ट लयमा छन् । उनले प्रतियोगितामा महत्वपूर्ण भूमिका खेलिरहेका छन् । क्रिस्टियन पुलिसिक पूर्ण रूपमा फिट बनेपछि अमेरिकी आक्रमण झनै बलियो देखिएको छ । रक्षक एलेक्स फ्रिम्यानले एक गोल र एक असिस्ट गर्दै विशेष छाप छोडेका छन् । उनी विश्वकपमा गोल गर्ने सन् २०१४ पछि अमेरिकाका पहिलो रक्षक बनेका छन् ।

यता टर्की भने निराशाजनक प्रदर्शनका कारण अन्तिम खेलअघि नै बाहिरिएको छ । अस्ट्रेलियासँग २-० र पाराग्वेसँग १-० ले पराजित भएपछि भिन्सेन्जो मोन्टेलाको टोलीको यात्रा समूह चरणमै समाप्त भएको हो । केनान यिल्दिज, अर्दा गुलर, हाकान चाल्हानोग्लु र अब्दुलकेरिम बार्दाक्चीजस्ता खेलाडीबाट टर्कीले अन्तिम खेलमा राम्रो प्रदर्शनको अपेक्षा गरेको छ ।

यो विश्वकपमा अमेरिका र टर्कीबीच पहिलो भेट हुनेछ । यसअघि पाँच खेलमा दुवैले दुई-दुई जित निकालेका छन् भने एक खेल बराबरीमा सकिएको थियो ।

त्यस्तै समूह ‘डी’ को अर्को खेलमा पाराग्वे र अस्ट्रेलिया आमनेसामने हुँदैछन् । यो खेलको विजेताले अन्तिम ३२ मा स्थान बनाउनेछ । अस्ट्रेलियासँग गोलअन्तरको लाभ भएकाले बराबरी नतिजा पनि उसलाई पर्याप्त हुनेछ । पाराग्वेलाई भने नकआउट चरणमा पुग्न जित आवश्यक छ । पाराग्वेले पहिलो खेलमा अमेरिकासँग ४-१ को हार बेहोरे पनि दोस्रो खेलमा टर्कीलाई १-० ले हराउँदै पुनरागमन गरेको थियो । माटियास गालार्साले खेल सुरु भएको ६४ सेकेन्डमै गरेको गोल निर्णायक बनेको थियो । यो विश्वकपको सबैभन्दा छिटो निर्णायक गोल पनि हो । त्यो खेलमा मिगेल अल्मिरोन रातो कार्ड पाएपछि पाराग्वेले आधाभन्दा बढी समय १० खेलाडीमा खेलेको थियो । त्यसैले उनी अस्ट्रेलियाविरुद्ध निलम्बनका कारण उपलब्ध हुने छैनन् । जुलियो एन्सिसो पाराग्वेका प्रमुख खेलाडीका रूपमा देखिएका छन् । उनले यस विश्वकपमा लगातार प्रभावशाली प्रदर्शन गर्दै गोलका अवसर सिर्जना गरिरहेका छन् । पाराग्वेले विश्वकप इतिहासमा पहिलो पटक समूह चरणमा दुई जित निकाल्ने लक्ष्य राखेको छ । 

अस्ट्रेलियाले पहिलो खेलमा टर्कीलाई २-० ले हराएको थियो। तर दोस्रो खेलमा अमेरिकासँग २-० ले पराजित भयो । टोलीको आक्रमण पक्ष कमजोर देखिएको छ । पछिल्ला दुई विश्वकप संस्करणमा अस्ट्रेलियाको औसत प्रहार संख्या उल्लेखनीय रूपमा घटेको छ । प्रशिक्षक टोनी पोपोभिचको टोलीलाई बराबरी मात्र पर्याप्त भए पनि नकआउट चरणमा थप अघि बढ्न आक्रमणमा सुधार आवश्यक देखिन्छ  ।

यस समुहबाट अन्तिम ३२ मा पुग्ने सम्भावनाको कुरा गर्दा अमेरिका समूह विजेताका रूपमा अन्तिम ३२ मा पुगिसकेको छ । त्यस्तै अस्ट्रेलियाले पाराग्वेविरुद्ध बराबरी वा जित भए अन्तिम ३२ मा पुग्ने छ भने पाराग्वेका लागि अन्तिम ३२ मा पुग्न अस्ट्रेलियालाई हराउनै पर्ने अवस्था छ । यद्यपी हारपछि पनि तेस्रो स्थानका उत्कृष्ट आठ टिममा पर्ने सम्भावना अस्ट्रेलिया र पराग्वेको कायमै रहेको छ । त्यसैगरी टर्की बहने दुई खेलबाट शून्य अंक भएकाले प्रतियोगिताबाट बाहिरिएको छ ।

समूह ‘डी’ को अन्तिम दिनको सबैभन्दा चासोको विषय पाराग्वे र अस्ट्रेलियाबीचको निर्णायक भिडन्त हुनेछ । अमेरिकाले समूह विजेता बनेर अर्को चरणको यात्रा तय गरिसकेको अवस्थामा दोस्रो टोली को बन्छ भन्ने निर्णय यही खेलले गर्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै