काठमाडौँ । अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस आज विश्वभर मनाइँदै छ । हरेक वर्षको जुन २६ तारिखमा यो दिवस मनाउने गरिन्छ । यस बर्ष 'प्रमाण स्पष्ट छ: रोकथाममा लगानी गरौँ' भन्ने नाराका साथ यो दिवस मनाइदैछ ।
विश्व समुदायलाई लागु औषधको असर र कारोबारबाट मुक्त गराउनु यो दिवसको उद्देश्य हो । यस वर्ष यो दिवसको नारा जीवन बचाऔँ भन्ने रहेको छ । लागू औषध दुरुपयोग र सम्बन्धित स्वास्थ्य समस्याहरू रोक्न लागू औषध र यसको प्रभावहरूको बारेमा सही जानकारी प्रदान गर्ने कुरामा दिवस केन्द्रित रहन्छ ।
विश्वमा लागू पदार्थको प्रयोगबाट निस्कने परिणाम डरलाग्दो छ । यसले व्यक्ति आफै, परिवार, समाज, राजनीति, राष्ट्र र अन्तर्राष्ट्रियरुपमै खतरा पैदा गरेको छ । यो मादक पदार्थ भन्दा दशौं गुणा हानिकारक छ । लागू औषधको अवैध दुव्र्यसन र तस्करको समस्या अहिले विश्वकै लागि चुनौतीपूर्ण बनेको छ । लागू औषधको सेवन नभई दुव्र्यसन, वैध नभई अवैध उत्पादन, तस्करीले आर्जित अकूत धनराशिको गलत कार्यमा दुरुपयोग हुनाले विश्वमा जटिल समस्या उत्पन्न भएको हो । लागू औषध दुव्र्यसनीहरूले पारिवारिक वातावरण अशान्त र तनावपूर्ण बनाएका छन् ।
लागूपदार्थको अवैध ओसारपसार, कारोबार एवं आपूर्तिमा कडाइका साथ नियन्त्रण गरी यससँग सम्बन्धित अपराधमा कमी ल्याउन विभिन्न नियन्त्रणमूखी कार्यक्रम सञ्चालन गर्नु उत्तिकै आवश्यक छ । त्यति मात्र होइन लागूपदार्थको अवैध खेती एवं ओसारपसारलाई निरुत्साहित गर्न विभिन्न दबाबमूलक कार्यक्रमका साथै सोसँग सम्बन्धित सचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाइनुपर्छ ।









