• २०८३ असार ११ बिहीबार

ट्रिलियन डलरबाट घट्यो मस्क सम्पत्ति

ट्रिलियन डलरबाट घट्यो मस्क सम्पत्ति

काठमाडौँ । विश्वकै धनी व्यवसायी एलन मस्कको सम्पत्ति एक पटक फेरि एक ट्रिलियन डलरभन्दा तल झरेको छ । स्पेसएक्सको ऐतिहासिक प्रारम्भिक सार्वजनिक निष्कासनपछि उनी विश्वकै पहिलो ट्रिलियन डलर सम्पत्ति भएका व्यक्ति बनेका थिए । तर स्पेसएक्स र टेस्लाको सेयर मूल्यमा आएको गिरावटसँगै उनको सम्पत्ति घटेर करिब ९४६ अर्ब डलरमा पुगेको छ ।

जुन १२ मा रकेट तथा उपग्रह कम्पनी स्पेस एक्सले अमेरिकी सेयर बजारमा प्रवेश गर्दा प्रति सेयर १३५ डलरमा बिक्री सुरु गरेको थियो । पहिलो दिनमै सेयर मूल्य १७६ डलरसम्म पुगेपछि मस्कको कुल सम्पत्ति पहिलो पटक एक ट्रिलियन डलर नाघेको थियो ।

स्पेसएक्सले उक्त निष्कासनबाट ७५ अर्ब डलर संकलन गरेको थियो । कम्पनीको बजार मूल्य सूचीकृत हुँदा करिब १.७७ ट्रिलियन डलर पुगेको थियो भने कारोबारका क्रममा झन्डै २ ट्रिलियन डलरसम्म पुगेको थियो । मस्कको स्पेसएक्समा करिब ४० प्रतिशत र टेस्लामा झन्डै १२ प्रतिशत स्वामित्व छ । त्यसबेला स्पेसएक्स, टेस्ला र अन्य कम्पनीहरूमा रहेको हिस्सेदारीका आधारमा उनको कुल सम्पत्ति १.१ ट्रिलियन डलरभन्दा माथि पुगेको थियो ।

त्यो समय मस्कको सम्पत्ति धेरै देशहरूको अर्थतन्त्रभन्दा ठूलो थियो । 

जुन १६ मा स्पेसएक्सको सेयर मूल्य २२५.६४ डलरसम्म पुगेपछि मस्कको सम्पत्ति करिब १.३२ ट्रिलियन डलरको उच्च स्तरमा पुगेको थियो । तर त्यसपछि कम्पनीको सेयर मूल्य झन्डै ३१ प्रतिशतले घटेर १५६ डलर आसपासमा झर्‍यो । यस गिरावटले मात्रै मस्कको सम्पत्तिबाट अनुमानित ३६३ अर्ब डलर घटाएको बताइएको छ । त्यसपछि उनको कुल सम्पत्ति फेरि एक ट्रिलियन डलरभन्दा तल झरेको हो । जुन २२ मा स्पेसएक्सको सेयर एकै दिन १६ प्रतिशतभन्दा बढीले घटेको थियो । यसले कम्पनीको बजार मूल्यबाट करिब ४०० अर्ब डलर घटेको थियो । सोही दिन मात्र मस्कको सम्पत्ति करिब २४० अर्ब डलरले घटेको थियो ।

यता टेस्लाको सेयर पनि कमजोर बनेको छ। जुन १६ यता टेस्लाको सेयर ४.१४ प्रतिशतले घटेको छ भने सन् २०२६ को सुरुदेखि हालसम्म सात प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

विश्लेषकहरूका अनुसार अहिले प्रविधि कम्पनीहरूको कृत्रिम बौद्धिकता क्षेत्रमा भइरहेको अत्यधिक खर्च लगानीकर्ताको मुख्य चिन्ताको विषय बनेको छ । ठूला प्रविधि कम्पनीहरूले नयाँ कृत्रिम बौद्धिकता प्रणाली विकास गर्न र सञ्चालन गर्न अर्बौं डलर डाटा केन्द्र तथा कम्प्युटिङ पूर्वाधारमा लगानी गरिरहेका छन् । यसले निकट भविष्यमा नाफा अपेक्षाभन्दा ढिलो आउन सक्ने आशंका बढाएको छ । त्यसको प्रभाव स्पेसएक्ससहित प्रविधि क्षेत्रका धेरै कम्पनीका सेयरमा देखिएको छ ।

विशेषज्ञहरूका अनुसार ठूलो कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासनपछि सेयर मूल्यमा तीव्र उतारचढाव आउनु सामान्य प्रक्रिया हो । स्पेसएक्सको सेयरमा देखिएको गिरावट असाधारण भए पनि भविष्यमा पुनः सुधार हुन सक्ने सम्भावना रहेको उनीहरूको भनाइ छ । विश्लेषकहरूका अनुसार स्पेसएक्सको सेयर मूल्य करिब ६ प्रतिशतले मात्रै सुधार भए पनि मस्कको सम्पत्ति फेरि एक ट्रिलियन डलर नाघ्न सक्छ । हालैको गिरावटका बाबजुद मस्क अझै पनि विश्वकै धनी व्यक्ति रहेका छन् । सन् २०२६ को सुरुदेखि हालसम्म मात्रै उनको सम्पत्तिमा करिब ३२६ अर्ब डलरले वृद्धि भएको ब्लूमबर्गले उल्लेख गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै