काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठक असार ५ र ६ गते बस्ने गरी तय गरिएको छ ।
प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार बैठकका एजेण्डाबारे छलफल गर्न असार ४ गते दिउँसो १२:३० बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।
यसपटकको केन्द्रीय कार्यसमिति बैठक विशेषगरी महाधिवेशन केन्द्रित रहने र बैठकले महाधिवेशनको मिति पनि तोक्ने तयारी गरिएको श्रेष्ठले जानकारी दिएका छन् ।
समयमा महाधिवेशन नगरेको र निर्वाचनमा असफल भएको भन्दै नेतृत्वप्रति असन्तुष्ट हुदै राप्रपाको धवलशमशेर राणा समुह पार्टी छोडेर नयाँ पार्टी निर्माणमा दुर्गा प्रसाईसँग सहकार्य गरेको समयमा राप्रपाको बैठक बस्न लागेको हो ।
राप्रपाको महाधिवेशन २७८ सालको मङ्सिरमा भएको थियो र सो महाधिवेशनबाट राजेन्द्र लिङदेन अध्यक्ष बनेका थिए । लिङदेन कार्यसमितिको कार्यकाल गत मङ्सिरमै सकिएको थियो भने त्यसपछि जेठ १७ गतेसम्म म्याद थप गरिएको थियो ।









