काठमाडौँ । ब्राजिलका लागि विश्वकपमा नेइमारको प्रतिक्षाको समय बढ्ने देखिएको छ ।
इन्जुरिका कारण विश्वकपको पहिलो खेल गुमाएका नेइमारले विश्वकपको नकआउट चरणसम्म नफर्किने अनुमान गरिएको छ ।
रिपोर्टका अनुसार ३४ वर्षीय ब्राजिलियन स्टार अहिले पनि टोलीसँग प्रशिक्षणमा फर्किएका छैनन् । ब्राजिलले दोस्रो समूह चरणको खेल हैटीसँग खेल्नुअघि पनि उनी अभ्यासमा देखिएका छैनन् । उनी एक हप्ताअघि गरिएको मेडिकल परीक्षण फेरि दोहोर्याइरहेका छन् । नेइमारलाई मे १७ मा सान्तोसका लागि खेल्ने क्रममा खुट्टाको पिँडुलामा चोट लागेको थियो । चोटका बाबजुद उनलाई ब्राजिलको विश्वकप टोलीमा समावेश गरिएको थियो, तर त्यसयता उनी प्रशिक्षणमा फर्किन सकेका छैनन् ।
सोमबार न्युयोर्क रेड बुल्स प्रशिक्षण केन्द्रमा पनि उनी अभ्यासमा सहभागी नभएको बताइएको छ । उनी अहिले दोस्रो दर्जाको मांसपेशी चोटबाट निको हुने क्रममा छन् । हालै गरिएको मेडिकल परीक्षणको नतिजा अझै ब्राजिल फुटबल महासंघले पुष्टि गरेको छैन । ब्राजिलियन मिडियाका अनुसार टोलीको मेडिकल स्टाफले उनलाई नकआउट चरणसम्म पूर्ण रूपमा फिट बनाउने योजना बनाएको छ । यसको अर्थ नेइमारले समूह चरणका हैटी र स्कटल्याण्डविरुद्धका दुवै खेल गुमाउने सम्भावना छ ।
ब्राजिलले शनिबार मोरोक्कोसँग १–१ को बराबरी खेलेको थियो। अब टोलीले शुक्रबार हैटीसँग र त्यसपछि जुन २४ मा स्कटल्याण्डसँग समूह चरणको अन्तिम खेल खेल्नेछ ।
नेइमारलाई ब्राजिलको पहिलो खेलमा बेन्चमा राखिएको थियो, तर उनी खेल पोशाकमा पनि देखिएका थिएनन् ।
खेलअघि प्रशिक्षक कार्लो एन्सेलोटीले नेइमार छिटो निको हुन धेरै मेहनत गरिरहेको र अर्को हप्तासम्म टिममा फर्किने बताएका थिए । उनका अनुसार, टोलीमा समावेश गर्दा नेइमारलाई उनको उत्कृष्ट प्राविधिक क्षमताका कारण राखिएको हो । साथै, युवा खेलाडीका लागि उनको अनुभव र नेतृत्व पनि महत्वपूर्ण रहेको उनले बताएका थिए ।









