• २०८३ जेठ २७ बुधबार

पाकिस्तानको अफगानिस्तानमा हवाई आक्रमण, ११ बालबालिकासहित १३ जनाको मृत्यु

पाकिस्तानको अफगानिस्तानमा हवाई आक्रमण, ११ बालबालिकासहित १३ जनाको मृत्यु

काठमाडौँ । पाकिस्तानले अफगानिस्तानको डुरान्ड सीमारेखा नजिकका विभिन्न प्रान्तमा हवाई आक्रमण गरेको छ ।

तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले पाकिस्तानी सेनाले अफगान हवाई क्षेत्र उल्लङ्घन गर्दै केही तस्बिर सार्वजनिक गर्दै मंगलबार र बुधबारको मध्यरातमा पाकिस्तानी सेनाले अफगानिस्तानको कुनार, खोस्त र पक्तिका प्रान्तमा रहेका सर्वसाधारणका घरमा बमबारी गरेको बताएका छन् ।

उनका अनुसार उक्त आक्रमणमा ११ बालबालिका, एक महिला र एक वृद्धको मृत्यु भएको छ। साथै १४ जना महिला र बालबालिका घाइते भएका छन् ।

तालिबान सरकारका प्रवक्ताले घटनालाई ‘मानवताविरुद्धको अपराध’ तथा ‘आक्रामक कार्य’को संज्ञा दिँदै कडा निन्दा गरेका छन् । घटनाबारे पाकिस्तान सरकारले भने समाचार सार्वजनिक हुँदासम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।

पछिल्ला केही महिनायता तालिबान सरकार र पाकिस्तानबीचको सम्बन्धमा तनाव बढ्दै गएको छ। यसै वर्षको मार्च महिनामा पाकिस्तानले अफगानिस्तानभित्र एक केन्द्रमा आक्रमण गरेको बताइएको थियो। अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघीय सहायता नियोगका अनुसार उक्त आक्रमणमा कम्तीमा २६९ जनाको मृत्यु भएको पुष्टि भएको थियो। वास्तविक मृतक संख्या अझ बढी हुन सक्ने पनि नियोगले जनाएको थियो।

पाकिस्तानले लामो समयदेखि अफगानिस्तानको तालिबान सरकारमाथि आफ्नो भूमिमा हुने आतङ्कवादी गतिविधिलाई प्रोत्साहन दिएको आरोप लगाउँदै आएको छ। तर तालिबान सरकारले ती आरोपहरू निरन्तर अस्वीकार गर्दै अफगानिस्तानको भूमि कुनै पनि देशविरुद्ध प्रयोग हुन नदिने अडान दोहोर्याउँदै आएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै