काठमाडौँ । दक्षिण अफ्रिकामा फेरि एकपटक सामूहिक गोलीकाण्डको घटना भएको छ । गौतेङ प्रान्तस्थित जोहानेसबर्गको पूर्वी क्षेत्रमा रहेको क्लिभल्यान्ड इलाकाको जम्पर्स अनौपचारिक बस्तीमा अज्ञात आक्रमणकारीहरूले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।
प्रहरीका अनुसार आक्रमणकारीहरू सेतो रङको टोयोटा क्वान्टम सवारीमा घटनास्थल पुगेका थिए। उनीहरू बस्तीमा दुई फरक मार्गबाट प्रवेश गरी विभिन्न स्थानमा गोली प्रहार गरेका थिए। गोलीबारीपछि उनीहरू सोही सवारी प्रयोग गरी फरार भएका थिए ।
अधिकारीहरूले घटनामा १० जनाभन्दा बढी व्यक्ति संलग्न रहेको आशंका गरेका छन्। घटनापछि प्रहरीले व्यापक खोजी अभियान सुरु गरेको भए पनि हालसम्म कसैलाई पक्राउ गर्न सकेको छैन । प्रहरीले घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ। आक्रमणको उद्देश्यबारे भने अहिलेसम्म कुनै आधिकारिक पुष्टि भएको छैन।
दक्षिण अफ्रिका लामो समयदेखि हिंसात्मक अपराधको समस्यासँग जुधिरहेको छ। त्यहाँ औसतमा दैनिक करिब ६० वटा हत्याका घटना दर्ता हुने गरेका छन्। यस्तो अवस्थामा भएको पछिल्लो सामूहिक गोलीकाण्डले देशको सुरक्षा अवस्थामाथि थप चिन्ता बढाएको छ।









