काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले ३७ थान नेपाली राहदानीसहित एक नेपाली नागरिकलाई नियन्त्रणमा लिएको छ ।
विमानस्थलमा खटिएको सुरक्षाकर्मी टोलीले मंगलबार सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थायी ठेगाना भएका ३८ वर्षीय अजित श्रेष्ठ पक्राउ गरको जानकारी दिएको छ । उनी नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौँबाट भारतको नयाँ दिल्ली जान लागेका थिए ।
जाँचका क्रममा श्रेष्ठको साथबाट कुनै पनि आधिकारिक अनुमति वा कागजातबिना ३७ थान नेपाली राहदानी फेला परेको सुरक्षा कार्यालयले जनाएको छ । ती राहदानीमा रोमानियाको भिसा लगाउने उद्देश्यले लैजान खोजिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बरामद गरिएका राहदानीसहित उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा पठाइएको प्रहरीले जनाएको छ ।









