• २०८३ जेठ ५ मंगलबार

कङ्गोमा इबोला संक्रमणमा मृत्यु हुनेको संख्या १३१ पुग्यो

कङ्गोमा इबोला संक्रमणमा मृत्यु हुनेको संख्या १३१ पुग्यो

काठमाडौँ । कङ्गो लोकतान्त्रिक गणराज्यमा फैलिएको इबोला सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या १३१ नाघेको छ ।

अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार अहिलेसम्म १३१ जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी शंकास्पद बिरामी फेला परेका छन् । कंगोका जान स्वास्थ्यमन्त्रीले पनि १३१ को मृत्यु भएको र ५१३ जना संक्रमित भएको बताएका छन् । 

संयुक्त राष्ट्रसंघअन्तर्गतको विश्व स्वास्थ्य सङ्गठनले बुन्डिबुग्यो विषाणुबाट फैलिएको हालको इबोलालाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।

युगान्डामा पनि दुई जनामा सङ्क्रमण पुष्टि हुँदा एक जनाको मृत्यु भएको बताइएको छ । कङ्गोमा सङ्क्रमितमध्ये एक अमेरिकी चिकित्सकसमेत रहेका छन् । उनलाई उपचारका लागि जर्मनी लैजाने तयारी गरिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले रोग अझ ठूलो रूपमा फैलिन सक्ने चेतावनी दिँदै सीमाक्षेत्रमा कडा निगरानी गर्न आग्रह गरेको छ । रुवान्डाले सीमा जाँच कडा बनाएको छ भने नाइजेरियाले अवस्थामाथि निगरानी बढाएको जनाएको छ ।

अफ्रिका रोग नियन्त्रण केन्द्रले हालसम्म प्रभावकारी औषधि वा स्वीकृत खोप उपलब्ध नभएकाले जनस्वास्थ्यका नियम कडाइका साथ पालना गर्न आग्रह गरेको छ । विशेषगरी सङ्क्रमितको अन्त्येष्टिका क्रममा सावधानी अपनाउन चेतावनी दिइएको छ ।

कंगो र युगान्डामा २० भन्दा बढी इबोला प्रकोपहरू भइसकेका छन्, तर बुन्डिबुग्यो भाइरस पत्ता लागेको यो तेस्रो पटक हो । बुनिया, गोमा, मोङब्वालु, बुटेम्बो र न्याकुन्डेमा केसहरू रिपोर्ट गरिएका छन् ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले आज जेनेभामा आफ्नो गहिरो चिन्ता व्यक्त गरे । उनले महामारीको मात्रा र गतिको बारेमा चिन्तित रहेको बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै