• २०८३ जेठ २ शनिबार

लेवान्डोस्कीले बार्सिलोना छोड्ने

लेवान्डोस्कीले बार्सिलोना छोड्ने

काठमाडौँ । बार्सिलोनाका स्टार फरवार्ड रोबर्ट लेवान्डोस्कीले यस सिजनपछि क्लब छाड्ने भएका छन् । क्लबले शनिबार औपचारिक रूपमा उनको बिदाइको घोषणा गरेको हो ।

३७ वर्षीय पोलिस स्ट्राइकरले यसै साता प्रशिक्षणका क्रममा सहकर्मी र प्रशिक्षक टोलीलाई आफ्नो निर्णयबारे जानकारी दिएका थिए । उनले बार्सिलोनामा बिताएका चार वर्षलाई आफ्नो करिअरकै 'सबैभन्दा अविस्मरणीय अध्याय' बताएका छन् ।

लेवान्डोस्कीले सामाजिक सञ्जालमार्फत चार वर्षमा तीन लिग उपाधिसहित सात ट्रफी जित्न सफल भएको उल्लेख गर्दै समर्थकप्रति आभार व्यक्त गरेका छन् । उनले क्याटालोनियालाई 'आफ्नो जीवनको विशेष स्थान' समेत बताएका छन् ।

सन् २०२२ मा बायर्न म्युनिखबाट करिब ५ करोड युरोमा बार्सिलोना आएका उनले १९१ खेलमा ११९ गोल गरेका छन् । उनी क्लबका सर्वाधिक गोलकर्ताको सूचीमा १४औँ स्थानमा रहेका छन् । पहिलो सिजनमै उनले सर्वाधिक गोलकर्ता पुरस्कार जित्दै टोलीलाई लिग उपाधि दिलाएका थिए ।

बार्सिलोनाले पनि लेवान्डोस्कीको योगदानको प्रशंसा गर्दै उनले गोल, नेतृत्व र उत्कृष्ट प्रतिस्पर्धी भावना मार्फत क्लबमा गहिरो छाप छाडेको जनाएको छ ।

अब उनको नयाँ गन्तव्यबारे चर्चा सुरु भएको छ । युभेन्टस र अमेरिकन फुटबल लिगका केही क्लबसँग नाम जोडिए पनि साउदी क्लब अल हिलालले उनलाई वार्षिक ९ करोड युरो बराबरको प्रस्ताव गरेको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै