• २०८३ जेठ २ शनिबार

महानगरले लिफ्ट राखेपछि बाल व्यवसायी केन्द्र माविका सबै कक्षा कोठामा दृष्टिविहिन तथा व्हीलचेयर प्रयोगकर्ता विद्यार्थीको पहुँच

महानगरले लिफ्ट राखेपछि बाल व्यवसायी केन्द्र माविका सबै कक्षा कोठामा दृष्टिविहिन तथा व्हीलचेयर प्रयोगकर्ता विद्यार्थीको पहुँच

काठमाडौँ । काठमाडौँ महानगर- ७ सिफलमा रहेको श्री बाल व्यवसायी केन्द्र माध्यमिक विद्यालयमा लिफ्ट जडान गरिएको छ । श्रवण–दृष्टिविहीन, सुस्त श्रवण, पूर्ण र अति अशक्त अपाङ्गता भएका शारीरिक, दृष्टिविहीन, न्यून दृष्टियुक्त, अटिजम, बौद्धिक तथा वहुअपाङ्गता भएका, स्वर बोलाइ र मनोसामाजिक अपाङ्गता भएका बालबालिका अध्ययन गर्ने यस विद्यालयका सबै कक्षा कोठामा सबै विद्यार्थीको पहुँच पुर्‍याउन काठमाडौँ महानगरपालिकाले अनुदान रकम दिएर लिफ्ट जडान गरिदिएको हो । नेपालका सामुदायिक विद्यालयहरुमा लिफ्ट जडान गरिएको यो नै पहिलो हुनुपर्छ । विद्यालयको दावी छ । 

विद्यालयमा लिफ्ट जडान भएपछि अभिभावक र विद्यार्थीमा खुशी देखियो । आफ्ना नानीबाबु विद्यालयको माथिल्लो तलामा पुग्न सक्ने भएपछि अभिभावकहरु भक्कानिएर हर्षका आँशु टिलपिल बनाउँदै हुनुहुन्थ्यो ।  व्हील चेयर प्रयोगकर्ता बालिकालाई लिफ्टमा राखेर प्रणाली सञ्चालनको शुभारम्भ गर्दै काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, सवै प्रकारका बालबालिकाको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको संरक्षण गर्न काठमाडौँ महानगरपालिकाले अभिभावकत्व ग्रहण गर्ने बताइन् । 

विद्यालयमा श्रवण–दृष्टिविहीन भएका १८ जना बालबालिका छन् । पूर्ण र अति अशक्त अपाङ्गता भएका, दृष्टिविहीन, अटिजम, बौद्धिक तथा वहुअपाङगता भएका र ४२ जना सामान्य तथा मध्यम प्रकृतिका सुस्तश्रवण, न्यूनदृष्टियुक्त, स्वर बोलाइ र मनोसामाविजक अपाङ्ता भएका बालबालिका अध्ययनरत छन् । यस्तो अवस्था भएका बालबालिकाहरुलाई विद्यालयले भर्ना नलिएको विषय धेरै पटक समाचार बनेका छन् । तर, यस विद्यालयले सबै प्रकारका अपाङ्गता भएका बालबालिकालाई भर्ना लिने, अध्ययनसँगै थेरापी गराउने गरेको छ । विद्यालयको अर्को महत्वपूर्ण विशेषता भनेको यस्ता बालबालिकाका अभिभावकलाई सिपमूलक तालिम प्रदान गरेर आत्मनिर्भर बन्न सघाउनु हो । यसरी हेर्दा विद्यालयको आयामिक शैक्षिक सेवा उपलब्ध गराइरहेको छ । 

वडा नं. ७ का अध्यक्ष विमलकुमार होडाले समावेशी शिक्षाका लागि महानगरपालिकासँग वडा कार्यालयले पनि विशेष लगानी गरिरहेको बताए । 

विद्यालयका प्रधानाध्यापक रामप्रसाद ढुङ्गानाका अनुसार वि. सं. २०२८ सालमा बाल संगठनमा आश्रय लिई बसेका असहाय, अनाथ, कैदिबन्दीका छोराछोरी र अपाङ्गता भएका बालबालिकाहरुलाई शिक्षा प्रदान गर्ने उद्देश्यले यो विद्यालय स्थापना भएको हो । 

नेपाल बाल संगठनभित्र आश्रय लिई बसेका असहाय बालबालिकाको परनिर्भरतालाई अन्त्य गरेर दीर्घकालीन रुपमा उनीहरुलाई स्वावलम्वी तथा आत्मनिर्भर बन्न व्यवसायिक सिप सिकाइने प्रमुख लक्ष्यका विद्यालय स्थापना भएको हो । अहिले विद्यालयमा ४२७ जना बालबालिका अध्ययनरत छन् । शैक्षिक सत्र २०५६ देखि अहिलेसम्म २६  ब्याच   एसएलसी र एसईईमा परीक्षामा १ हजार ५ सय बढी विद्यार्थीहरुलाई ग्रेडेड गराएको छ । शैक्षिक सत्र २०८० मा ९४ प्रतिशत, २०८१ मा शतप्रतिशत विद्यार्थी सफल भए । शैक्षिक सत्र २०८२ मा ३ जना विद्यार्थीले ३.६ देखि ३.९ जीपीए सहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै