काठमाडौँ । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित बन्नु जिल्लामा रहेको प्रहरी चौकीमा भएको चरमपन्थी आक्रमणमा ज्यान गुमाउने प्रहरीकर्मीको संख्या १५ पुगेको छ ।
बन्नु मेडिकल एन्ड टिचिङ इन्स्टिच्युटका प्रवक्ता नोमान खानले मृत्यु हुनेको संख्या पुष्टि गरेको बिबिसीले उल्लेख गरेको छ । उनका अनुसार ज्यान गुमाउने सबै व्यक्ति प्रहरीकर्मी रहेका छन् ।
आक्रमणमा घाइते भएका थप तीन जनालाई अस्पताल ल्याइएको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको बताइएको छ ।
यसअघि बन्नु क्षेत्रीय प्रहरी प्रमुख सज्जाद खानको कार्यालयले जारी गरेको वक्तव्यमा फतेह खेल चौकीको भवन भग्नावशेषबाट १२ प्रहरीकर्मीको शव निकालिएको जनाएको थियो । साथै तीन जना प्रहरीकर्मीलाई भग्नावशेषबाट जीवितै उद्धार गरिएको उल्लेख गरिएको थियो ।
समाचार संस्था रोयटर्सका अनुसार बन्नु सहर बाहिर रहेको प्रहरी चौकीमा विस्फोटक पदार्थले भरिएको सवारीसाधन ठोक्काइएको थियो । एक सुरक्षा अधिकारीले विस्फोटपछि चरमपन्थी समूह चौकीभित्र प्रवेश गरेर प्रहरीमाथि गोली चलाएको दाबी पनि गरेका छन् ।









