• २०८३ बैशाख २४ बिहीबार

सिएनएनका संस्थापक टर्नरको निधन

सिएनएनका संस्थापक टर्नरको निधन

काठमाडौँ । विश्वप्रसिद्ध समाचार सञ्जाल सिएनएनका संस्थापक टेड टर्नरको ८७ वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार निधन भएको टर्नर इन्टरप्राइजेजले जनाएको छ ।

अमेरिकाको ओहायोमा जन्मिएका टर्नरलाई स्पष्ट र निर्भीक अभिव्यक्तिका कारण ‘द माउथ अफ द साउथ’ भनेर चिनिन्थ्यो । उनले २४ घण्टा निरन्तर समाचार प्रसारण गर्ने सिएनएन स्थापना गरेर टेलिभिजन समाचार क्षेत्रमा ठूलो परिवर्तन ल्याएका थिए ।

टर्नरले केवल समाचार क्षेत्रमा मात्रै नभई चलचित्र, बाल कार्यक्रम र खेलकुदसँग सम्बन्धित ठूला सञ्चार सञ्जाल पनि निर्माण गरेका थिए । उनी एटलान्टा ब्रेभ्स बेसबल टोली र एटलान्टा हक्स बास्केटबल टोलीका मालिकसमेत बनेका थिए ।

उनी परोपकारी, वातावरण संरक्षण अभियन्ता र आणविक हतियार उन्मूलनका समर्थकका रूपमा पनि परिचित थिए । उनले संयुक्त राष्ट्रसंघ फाउन्डेसन स्थापना गरेका थिए भने अमेरिकामा बाइसन जनावर पुनःस्थापनामा महत्वपूर्ण भूमिका खेलेका थिए । बालबालिकालाई वातावरणबारे सचेत बनाउन उनले ‘क्याप्टेन प्लानेट’ नामक कार्टुनसमेत निर्माण गरेका थिए ।

सन् १९९१ मा टाइम पत्रिकाले उनलाई ‘म्यान अफ द इयर’ घोषणा गरेको थियो । टर्नरले पछि आफ्ना सञ्चार सञ्जाल टाइम वार्नरलाई बिक्री गरे पनि सिएनएनलाई आफ्नो जीवनकै 'सबैभन्दा ठूलो उपलब्धि' भन्ने गरेका थिए ।

सिएनएनका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत मार्क थम्पसनले टर्नरलाई निडर, दूरदर्शी र साहसी नेतृत्वकर्ता भएको बताएका छन् । सिएनएनका पत्रकारहरूले पनि टर्नरकै कारण आफूहरू समाचार क्षेत्रमा आएको बताएका छन् ।

टर्नरले सन् २०१८ मा आफू ‘लुई बडी डिमेन्सिया’ नामक मस्तिष्कसम्बन्धी रोगबाट पीडित रहेको सार्वजनिक गरेका थिए । सन् २०२५ मा निमोनियाका कारण अस्पताल भर्ना भएका उनी पछि पुनःस्थापना केन्द्रमा उपचाररत थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै