• २०८३ बैशाख २३ बुधबार

आइपिएलको प्लेअफ तालिका सार्वजनिक, फाइनल अहमदाबादमा हुने

आइपिएलको प्लेअफ तालिका सार्वजनिक, फाइनल अहमदाबादमा हुने

काठमाडौँ । जारी इन्डियन प्रिमियर लिग (आइपिएल) का प्लेअफ खेलहरूको तालिका सार्वजनिक गरिएको छ ।

प्रतियोगिता अन्तिम चरणमा पुग्नेक्रममा पुगेको समयमा प्लेअफ चरण २६ मेबाट सुरु हुने भएको छ भने फाइनल खेल ३१ मेमा अहमदाबादमा हुने तय गरिएको छ ।

भारतीय क्रिकेट बोर्डले प्लेअफका सबै विवरण सार्वजनिक गरेको हो । यस सिजनमा ५ मेसम्म ४८ खेल सम्पन्न भइसकेका छन् । कुल ७० लिग खेलपछि प्लेअफ चरण सुरु हुनेछ ।

प्लेअफ अन्तर्गत पहिलो खेल अर्थात् पहिलो क्वालिफायर २६ मेमा धर्मशालास्थित एचपिसिए रंगशालामा हुनेछ । यस खेलमा अंक तालिकाका शीर्ष दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ । त्यसपछि प्रतियोगिता चण्डीगढस्थित नयाँ अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सर्नेछ । त्यहाँ २७ मेमा एलिमिनेटर तथा २९ मेमा दोस्रो क्वालिफायर खेलाइने कार्यक्रम रहेको छ ।

यस सिजनको उपाधि भिडन्त ३१ मेमा अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा हुनेछ । उक्त रंगशालाले लगातार दोस्रो वर्ष फाइनल आयोजना गर्न लागेको हो । अघिल्लो सिजनको फाइनल पनि यहीँ भएको थियो, जहाँ रोयल च्यालेन्जर्स बेङ्गलुरुले पञ्जाब किंग्सलाई हराउँदै उपाधि जितेको थियो ।

आईपीएल २०२६ मा ७० लिग खेलसहित कुल ७४ खेल हुनेछन् । २८ मार्चबाट सुरु भएको प्रतियोगितामा हालसम्म ४८ खेल सकिँदा प्लेअफ प्रतिस्पर्धा झन् रोमाञ्चक बनेको छ । पञ्जाब किंग्स १३ अंकसहित शीर्ष स्थानमा छ भने लखनउ सुपर जायन्ट्स पुछारमा रहेको छ ।

यस वर्ष प्लेअफका लागि तीन फरक स्थान चयन गरिएको छ । सुरुमा फाइनल खेल बेङ्गलुरुमा गर्ने योजना थियो । तर स्थानीय क्रिकेट संघ र सम्बन्धित निकायले राखेका केही मागहरू बोर्डका नियम र मापदण्डभन्दा बाहिर रहेपछि स्थान परिवर्तन गर्नुपरेको जनाइएको छ । त्यसपछि फाइनल आयोजना गर्ने जिम्मा अहमदाबादलाई दिइएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै