काठमाडौँ । काठमाडौँको पशुपति क्षेत्रबाट उद्धार गरिएका सडक सहयोगापेक्षीहरुको वास्तविकता पहिचान गर्न होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ ।
काठमाडौँ महानगरपालिका, पशुपति क्षेत्र विकास कोष र मानव सेवा आश्रमले संयुक्त रुपमा वडा नम्बर ८ तिलगंगामा सञ्चालन गरिएको सेन्टरमा पहिलो दिन मंगलबार २८ जनालाई राखिएको छ । यस दिन विहान ३६ जनालाई उद्धार गरिएको थियो । उनीहरुमध्ये सेन्टरमा पुगेपछि पर्खाल नाघेर ६ जना भागेको महानगरले जानकारी दिएको छ ।
मंगलबार नै काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सेन्टरमा पुगेर पूर्वाधार, सुविधा, व्यवस्थापन र सहयोगापेक्षीका अपेक्षाका विषयमा जानकारी लिएकी थिइन् । उद्धार गरिएकाहरुसँग कुरा गर्दै डंगोलले पारिवारिक अवस्था, सडकमा आउनु परेको कारण, शारीरिक अवस्था, परिवार र सरकारसँगका अपेक्षा लगायत विषयमा जानकारी लिएकी थिइन् । खानपान र बसोबास व्यवस्थाको कुरा गर्दै उनले, विरामीलाई उपचारको व्यवस्था मिलाउन निर्देशन दिएकी छन् ।
कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले, सेन्टरको पूर्वाधारलाई व्यवस्थित र सुरक्षित बनाउन कोषले काम गर्ने बताए । उद्धार गरिएकामध्ये ४ जनामा मानसिक समस्या छ । १ जना ज्येष्ठ नागरिकलाई कुकुरले टोकेर घाइते बनाएको छ । उद्धारबाट व्हिलचेयर प्रयोगकर्ता र वैशाखी प्रयोगकर्तालाई समेत सेन्टरमा ल्याइएको मानव सेवा आश्रमका उपत्यका इञ्चार्ज कृष्ण पौडेलले जानकारी दिए ।
उद्धार गरिएकामध्ये ६ जना महिला र बाँकी सबै पुरुष रहेको र उमेरका हिसाबले सबैभन्दा पाको उमेरको व्यक्ति ७८ वर्षको र सबैभन्दा कान्छो २५ वर्षको व्यक्तिका रहेको महानगरले जानकारी दिएका छन् । त्यस्तै उद्धार गरिएका सोलुखुम्बु, सर्लाही, मकवानपुर, साँखु, सुनसरी, मोराङ., बारा, महोत्तरी, खोटाङ्, धनकुटा, सुर्खेत, दोलखासहित स्थानका व्यक्ति रहेका छन् ।









