• २०८३ बैशाख २२ मंगलबार

युएईमा गरिएको आक्रमणको भारतद्वारा निन्दा

युएईमा गरिएको आक्रमणको भारतद्वारा निन्दा

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) को फुजैराहस्थित तेल बन्दरगाहमा भएको आक्रमणप्रति भारतले असन्तुष्टि जनाएको छ । भारत सरकारले उक्त घटनामा तीन जना भारतीय घाइते हुनु दुःखद रहेको भन्दै यसलाई स्वीकार गर्न नसकिने स्पष्ट पारेको छ ।

भारतले सबै पक्षलाई तत्काल हिंसा रोक्न र सर्वसाधारणलाई निशाना नबनाउन आग्रह गरेको छ । साथै पश्चिम एसियामा शान्ति र स्थायित्व कायम राख्न वार्ता र कूटनीतिक माध्यम नै उचित उपाय हुने बताएको छ । भारतले अन्तर्राष्ट्रिय कानुनअनुसार होर्मुज क्षेत्रमा जहाजहरूको आवागमन अवरोधबिना जारी रहनुपर्नेमा जोड दिएको छ ।

यसअघि युएईले उक्त आक्रमण इरानतर्फबाट भएको दाबी गरेको थियो । उसले १२ बैलिस्टिक क्षेप्यास्त्र, ३ क्रुज क्षेप्यास्त्र र ४ ड्रोनलाई अवरोध गर्न सफल भएको जनाएको छ । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सर्वसाधारण र महत्वपूर्ण पूर्वाधारलाई निशाना बनाउने कार्य अस्वीकार्य हुने बताएका छन् ।

अर्कोतर्फ इरानले फुजैराहस्थित तेल क्षेत्रमा लागेको भीषण आगलागीका लागि अमेरिकालाई जिम्मेवार ठहर गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार एक सैन्य अधिकारीले उक्त क्षेत्रमा आक्रमण गर्ने कुनै योजना नभएको बताएका छन् । ती अधिकारीका अनुसार अमेरिकाले होर्मुज क्षेत्रमा जबर्जस्ती मार्ग खोल्ने प्रयास गरेपछि अवस्था बिग्रिएको हो ।

यस घटनाले क्षेत्रीय स्थायित्वमा खतरा उत्पन्न गरेको इरानको आरोप छ । उक्त घटना अमेरिकाले होर्मुज क्षेत्रमा ‘प्रोजेक्ट फ्रिडम’ नामक अभियान सुरु गरेलगत्तै भएको बताइएको छ, जसको उद्देश्य जहाजहरूको आवागमन पुनः सुचारु गराउने रहेको छ । यसको प्रतिक्रियास्वरूप इस्लामिक रिभोलुसनरी गार्डले अनुमति बिना कुनै पनि सैन्य वा व्यापारिक जहाजलाई उक्त मार्ग प्रयोग गर्न नदिने चेतावनी दिएको छ ।

इरानले होर्मुज क्षेत्रमा आफ्नो नियन्त्रण रहेको दाबी गर्दै आफ्नो नियम पालना गर्ने जहाजहरूलाई मात्र आवागमन गर्न दिइने जनाएको छ । यसअघि पनि इरानी नौसेनाले चेतावनीका रूपमा अमेरिकी युद्धपोततर्फ क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको दाबी गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै