काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले वर्षौंदेखि धेरै संगठन विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका 'स्लिपर सेल' बनेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री शाहले योग्यता भन्दा पहुँच, क्षमता भन्दा झोला र झण्डाको मूल्य बढाइएको उल्लेख गर्दै यसले प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनाएको टिप्पणी गरेका छन् ।
उनले भनेका छन्- 'धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आम जनताले वर्षौंदेखि एउटै कुरा भन्दै आएका छन् 'विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगार्यो ।' वर्षौंदेखि धेरै संगठन विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका 'स्लिपर सेल' बने । योग्यता भन्दा पहुँच, क्षमता भन्दा झोला र झण्डाको मूल्य बढाइयो।यसले प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनायो ।'
उनले राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने कुरा संगठन बनाउन नसकेर गरेको होइन भन्दै चाहने हो भने आजकै दिनमा ठूला विद्यार्थी र कर्मचारी संगठन बनाउन सक्ने बताएका छन् ।
उनले अर्को दलगत संगठन थप्दैमा न शिक्षाको गुणस्तर बढ्छ, न कर्मचारीको सम्मान जोगिन्छ भन्ने कुरा विगतले देखाइसकेको उल्लेख गर्दै अब स्पष्ट निर्णय आवश्यक रहेको र शिक्षालयमा दलको झण्डा निषेध गरिने बताएका छन् ।
त्यस्तै उनले कर्मचारीतन्त्रमा दलको झोला निषेध गर्ने र यसले अधिकार नखोस्ने बरु पेशागत स्वतन्त्रता बलियो बनाउने दाबि गरेका छन् । प्रधानमन्त्री शाहले अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता होइन, विधि, क्षमता र दक्षता बन्नुपर्ने बताएका छन् । उनले भनेका छन्- 'हाम्रो प्रयास यति मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन । कर्मचारीले विधि खोजून्, नेताको छहारी होइन । हामी चाहन्छौं विद्यार्थीले राजनीति सिकून् तर सभ्यता, विचार र जिम्मेवारीको राजनीति; कर्मचारीले जनताको सेवा सिकून् , कुनै दलको होइन।यो कुनै पार्टीविरुद्धको लडाइँ होइन।यो प्रणाली बचाउने प्रयास हो।यो भविष्य बचाउने प्रयास हो ।'
प्रधानमन्त्री शाहले यो देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास गरिरहेको बताउदै शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने प्रयासभएको बताएका छन् । उनले त्यसैले अध्यादेशमार्फत यी विकृतिहरू हटाएको स्पष्ट गरेका छन् । उनले भनेका छन्- 'हामीलाई सबैको साथ र विश्वासको अपेक्षा छ, तपाइको साथ चाहिएको छ, विश्वास चाहिएको छ, किनकि परिवर्तन भाषणले होइन, निर्णयले आउँछ । हामी तपाइहरुकै जनचाहना बमोजीम काम गर्न सरकार मा आएका हौ । तपाइहरु ढुक्क हुनुस, हामि जे गर्छौ आम नेपाली जनताकै हितमा गर्छौ ।'









