काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सात साना डुंगा डुबाइएको दाबी गरेका छन् ।
ट्रम्पका अनुसार ती डुंगाहरूले होर्मुज क्षेत्र हुँदै आवतजावत गर्ने व्यापारिक जहाजहरूमा आक्रमण गरिरहेका थिए । तर यस विषयमा इरानले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
ट्रम्पले इरानसामु अब दुई विकल्प मात्र रहेको बताएका छन् । उनले इमान्दारीपूर्वक सम्झौता गर्न वा पुनः आक्रमण सामना गर्न तयार रहन चेतावनी दिएका छन् । साथै अमेरिकी जहाजलाई निशाना बनाए कडा जवाफ दिइने र गम्भीर परिणाम भोग्नुपर्ने उनले बताएका छन् ।
यसैबीच अमेरिकाले सोमबारदेखि होर्मुज क्षेत्र आसपास ‘प्रोजेक्ट फ्रिडम’ नामक सुरक्षा अभियान सुरु गरेको जनाएको छ । यस अन्तर्गत त्यहाँबाट गुज्रिने व्यापारिक जहाजहरूको सुरक्षा गरिँदै आएको छ । यही क्रममा दुवै देशबीच तनाव बढेको बताइएको छ ।
इरानले भने होर्मुज क्षेत्रमा आफ्नो नियन्त्रण रहेको दाबी गर्दै अनुमति बिना कुनै पनि जहाजलाई आवतजावत गर्न नदिने अडान दोहोर्याएको छ ।
अर्कोतर्फ इरानका विदेशमन्त्री अब्बास अराघचीले वर्तमान अवस्थाले सैन्य उपायबाट समाधान सम्भव नभएको स्पष्ट पारेका छन् । उनले पाकिस्तानको मध्यस्थतामा वार्ता अघि बढिरहेको र समस्याको समाधान संवादबाटै निस्कने बताएका छन् ।
साथै उनले अमेरिका र संयुक्त अरब अमीरातलाई अरूको उक्साहटमा नपरी परिस्थितिलाई थप जटिल नबनाउन चेतावनी दिएका छन् ।









