• २०८३ बैशाख २१ सोमबार

अस्पतालहरूमा स्वास्थ्य मन्त्रालयको अनुगमन

अस्पतालहरूमा स्वास्थ्य मन्त्रालयको अनुगमन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शासकीय सुधार सम्बन्धी एक सय कार्य योजनाहरूको कार्यान्वयनमा तीव्रता दिएको छ ।

शासकीय सुधार कार्य योजना अनुरूप मन्त्रालयले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै स्वास्थ्य संस्थाहरूमा अनुगमन अघि बढाएको छ ।

सोमबार मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले महाशाखा प्रमुख डा. रोशन न्यौपानेको नेतृत्वमा काठमाडौँको महाराजगन्जस्थित कान्ति बाल अस्पतालको अनुगमन गर्दै आवश्यक सुधारका लागि पत्राचार गरेको छ । 

मन्त्रालयले अस्पताललाई ओपिडी, इमर्जेन्सी, फार्मेसी, रेडियोलोजिकल विभाग लगायत अन्य सेवामा समेत प्रतीक्षा समय घटाउन भनेको छ । 

त्यसै गरी, बिरामीसँग सम्मानजनक र मैत्रीपूर्ण व्यवहार गर्न, आकस्मिक अवस्थामा पर्याप्त कर्मचारी खटाउने व्यवस्था गर्न, सरसफाइ र सुरक्षा व्यवस्थापनमा सुधार गर्न मन्त्रालयले अस्पताललाई निर्देशन दिएको छ । 

कर्मचारीको नियमित उपस्थिति कडाइका साथ पालना गराउन निर्देशन दिएको मन्त्रालयले अस्पतालका उपकरणहरू चुस्त दुरुस्त राख्न समेत भनेको छ । मन्त्रालयले अस्पताललाई पत्रमार्फत अस्पतालको ओपिडी समयमा 'एमआर'हरूलाई प्रवेशमा रोक लगाउन समेत निर्देशन दिएको छ । 

मन्त्रालयले यस अघि भेरी अस्पताल, नारायणी अस्पताल, बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान र गजेन्द्रनारायण सिंह अस्पतालको अनुगमन गरिसकेको छ । सरकारको 'शासकीय सुधार सम्बन्धी एक सय कार्य योजना'को सूची ८५ को 'क' देखि 'ङ' सम्म स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सँग सम्बन्धित विषय समावेश छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै