काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको माघ १८ गतेदेखि २१ गतेसम्म हुने जापानको औपचारिक भ्रमण बारे परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
शुक्रबार परराष्ट्र सचिव अमृतबहादुर राईले राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही माघ १८ गते नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार नेपाल एयरलाइन्सको उडानबाट जापान प्रस्थान गर्ने बताएका छन् ।
भ्रमण सम्पन्न गरी राष्ट्रपति पौडेल माघ २१ गते सोही स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
मन्त्रालयले राष्ट्रपति पौडेलले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै सोही दिन राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्री सनई ताकाइचीसँग भेटवार्ता गर्ने परराष्ट्र सचिव राईले जानकारी दिएका छन् ।
राष्ट्रपति पौडेलले माघ १९ गते नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव मनाउने सन्दर्भमा जापान सरकारको तर्फबाट आयोजना हुने विशेष स्वागत समारोहमा सहभागिता जनाउने कार्यक्रम रहेको छ ।
भ्रमणका अवसरमा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गर्नेछन् ।
भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जापानी व्यावसायिक समुदायसँग बैठकमा सहभागिता जनाउनुका साथै, जापानस्थित नेपाली राजदूतावासले उनको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुने मन्त्रालयले जानकारी इद्येको छ ।
भ्रमणमा राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी श्रीमती सविता पौडेल तथा उच्चस्तरीय सरकारी अधिकारीहरू रहने मन्त्रालयले जानकारी दिएको छ ।









